रमेश रसिक

मैले

मेरा बा´ले खाँदाखाँदै गर्दा छोडेको गाँस लेखेको हुँ

सिरानभरिका साहुका तमसुकका पाना लेखेको हुँ

मलाई तातेताते गराउँदा समाएका हातका स्पर्श

कैलेकसो मेरा काँधमा धाप मार्दै दिएका आशीर्वाद

लेखेको हुँ रित्तो गोजीले बा´ले देखेका सपनाहरू

बिन्ती मलाई कवि नभन्नुस्

मैले आजसम्म कविता लेख्न सकेको छैन।

 

मैले

कतिऔँ दिन भोको पेटको आमाको कथा लेखेको हुँ

मेरा सपनाहरू सिलाउँदा सिलाउँदै उध्रिएका

उनका चोली र पटुकीका कुराहरू लेखेको हुँ

लेखेको हुँ आँशुको तिहुनसँग उनले खाएकी भोक खाना

बा परदेश जाँदाको उनको एक्लो र निरस जिन्दगी

समाजका कुपुरुषहरूले हेर्ने कुदृष्टि

बिन्ती मलाई कवि नभन्नुस्

मैले आजसम्म कविता लेख्न सकेको छैन।

 

मैले

मेरो देश स्वर्ग भन्दा प्यारो छ भनी लेखेको हुँ

लेख्दा लेख्दै

सेता हिमालमुनि राता लालीगुँरासका राता रङले

लेखिएको नेपालीको भविष्य लेख्न भ्याइएछ कि

लेखिएको होला

नेपालीले अरबका देशका फलाका सुनका वालहरू

रेमिटान्सले चलाएका देशका सरकारवालाहरू

गाली र ताली दिँदै लेखिए होला सरकारलाई ज्ञापनपत्र

बिन्ती मलाई कवि नभन्नुस्

मैले आजसम्म कविता लेख्न सकेको छैन।

 

 

निजगढ