एकदिन मैले आफैँलाई भेट्टाएँ
मजस्तै मैलो खम्बामा
मजस्तै रंगहीन तस्वीर
संगै लेखिएको थियो
मानिस हराएको सूचना !
म हराएको भए
मैले मलाई कसरी भेट्टाउँथे !
म त हराएको थिएन
हो, मेरो स्वप्न हराएको थियो
मेरो प्रेम हराएको थियो
मेरा रहरहरू हराएका थिए
म त खोज्न हिँडेको मान्छे
उल्टै आफू हराएछु
अझ आफैँले भेट्टाउने गरी
ठूलो आकाशमुनि
सहरका ससाना गल्लीहरूमा
म खोजिरहेको थिएँ
ती तमाम यादहरूलाई
जो हराएका थिएँ
वास्तवमा ।
म कसरी हराउन सक्छु ?
थिएँ कतै दूर
नामका आफन्तहरू भन्दा
अलिक् टाढा बस् रुमल्लिरहेको
घृणाको हिलोमा जकडिएको
थाहा छ ! हराएको मान्छे पाइँदैन
र, जिउँदो मान्छे कहिले हराउँदैन
बस् बगिराख्छ खोला जसरी
चलिराख्छ हावा जसरी
कहिले रोकिन्छ, कहिले ठोकिन्छ !
इनाम रहेछ मलाई भेट्टाएबापत
ठूला अक्षरमा विनम्र अनुरोध पनि थियो
म छक्क परे !
नजिक हुँदा थोरै प्रेम नगर्ने
साथमा हुँदा आवश्यक नपर्ने
म कसरी अहिले हराउन सकेँ !
मानिस हराएको सूचना देखेपछि
बल्ल जानेँ, म त मानिस पो रहेछु !
च्यातिदिए सूचनामा छापिएको
मेरो अर्को अस्तित्वलाई
मुट्ठीमा गुट्मुट्याउँदै
मेरो अनुहारजस्तै कुरुप डल्लो बनाएँ
र बाग्मतीमा मिल्काइदिएँ
म फेरि हराएँ
मान्छेजस्तै देखिनेहरूको नजरबाट
तर म हराएको थिइनँ
म खोज्दै थिएँ ती तमाम यादहरूलाई
जो खासमा हराएका थिएँ
अरे ! जिउँदो मान्छे हराउँदैन
हराएको मान्छे कहिले पाइँदैन
आखिर ‘म’ मसँगै थिएँ
मैले मलाई पाएको थिएँ
अब भन,
म कसरी हराएको थिएँ ?
ध.उप.म.पा १३
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।