बालापनबाट भर्खर केटाकेटी भएका थियौ तिमी
एकदिन अचानक घर छोडी अलि पर पुग्दा
तिमी हराइसकेका थियौ
तिम्लाई कसोरी घर फर्कने पत्तै भएन
तर, खोई, कसको कसको पछि लागेर तिमी घर पुगेको…?
त्यस दिन तिमी दंगदास भयौ
सहासिक यात्राबाट फर्किएझैँ गरेर
अहँ, कसैलाई भनेनौ के भाको थियो
कसो भाको थियो
तिमीले एउट अनौठो जिनिस भेट्टाई ल्याएका थियौ
त्यसबारे पनि तिम्ले कसैलाई भनेनौ
केराको बोट छेवै धुलो माटोमा
खुसुक्क लुकायौ तिमीले त्यसलाई
आफू हराएजस्तै गरी, सुटुक्क

अलिक समयपछि खेल्दै जाँदा
तिमीले केराको बोटमुनि माटोको डल्ला पन्छाइहेरेका थियौ
तिमीले लुकाएको जिनिश, चिल्लो पालुवा हालेर उम्रँदै थियो
तिमी कत्ति खुशी भयौ
”मेरो हो, मेरो बिरुवा”
स्वतः निस्किएको थियो
फुर्तिलो आवाज तिम्रो मुखारबिन्दबाट
यस पटक पनि तिमीले कसैलाई भनेनौ
न त तिमीभन्दा सानो भाइलाई
न त बहिनीलाई
न त आमा-बुवालाई
किनकि तिमी ठान्थ्यौ त्यो नितान्त तिम्रो मात्र हो
त्यतिखेर तिम्रो ओठमाथि उसैगरी रौँकेसर उम्रिसकेका थिए

अलिकपछि
फेरि सम्झिएझैँ गरी तिमी
केराको उही बोटमुन्तिर पुगेका थियौ
अहॊ ! चिल्ला पौधा लिई तिम्रो बिरुवा त हलक्कै बढिसकेछ
कस्तो कस्तो कपूरपातीझैँ
कस्तो कस्तो कस्तुरीबल्लिकाझैँ
तिमीले झट्ट कोठाको झ्यालमुनि रित्तो गमला सम्झियौ
कति चाँडो, त्यो बिरुवा गमलामा सार्न मन भएको तिम्रो ..
तब, होत्त, तिमीलाई अनि सबैमाझ देखाउन मन लागिसकेको
भाइ, बहिनी,आमा -बुवा, सबै-सबै जनालाई
तर तिमीलाई त्यसलाई गमलामा सार्नुभन्दा हतार
नयाँ, उच्चमावि जानुमा भैदियो

अर्को एक दिन, पुनः छुट्टीमा
अनायासै सम्झिएका थियौ तिमीले केराको बोट भएतिर जान
‘त्यो रंग बैजनी
त्यो बोट कपूरपाती
पत्र ती कस्तुरीबल्लिका
बेली पुष्पा चमेली सबै-सबै’
तिमीले कहिल्यै यस्तो सुन्दर फूल देखेको थिएनौ
त्यो केसर त्यो पराग
एकोहोरो आफैँतिर बोलाइरहने, त्यसैको रंग राग
फार्किएका थिए तिम्रा आँखा
झ्यालमुनिको रित्तो गमलातिर
अनि त्यो कल्पना
कोठैभरि बसाइरहने
आँखैअघि मुस्काइरहने
रोमान्चकारी संसारबाट लट्मुखा बन्दै बाहिरिएका थियौ तिमी
अब निश्चय गरेका थियौ तिमीले
गमलामा यसलाई सार्नुपर्छ
विडम्बना, उत्तिनखेरै, विश्वविध्यालयतिर तिमी रवाना भयौ

कता-कता रंग बैजनी तिमीले, कक्षाहरुमा देख्थ्यौ
सभाहरुमा भेट्थ्यौ
विश्वविध्यालयका भित्ताहरुमा,जंगलहरुमा, अनि सहपाठीका कापीहरुमा भेट्थ्यौ
तर गमलामा सार्न नपाउँदाको आहतले मन कुँडिइरहन्थ्यो ।

फेरि,
फर्किएका थियौ तिमी
उही केराको बोट छेउ,
धपक्क रंग बैजनी, मुस्कुराइरहेकी थिई
अब झ्यालमुनिको गमला, त्यसका निम्ति सानो हुन सक्थ्यो
तिमीले तुरुन्त नयाँ, ठूलो गमलाको बन्दोबस्त पनि गर्यौ
माटो भर्यौ, पानी दियौ
तर केराको छेउबाट त्यसलाई निकाल्नुअघि नै
तिमी आफू घरबारको बन्दोबस्तमा पर्यौ ।

लामो समयसम्म
तिमी खै केमा भुल्यौ
केमा रम्यौ
फर्किएनौ एकबाजी पनि केराको छेउतिर
त्यतिखेर तिमी दौडिरहेका थियौ आफ्नैका अघिपछितिर ।

जब अचानक केराको बोट सम्झिएका थियौ
आफ्ना सेता केशहरु तिम्रो मुट्ठीमा आएका थिए
दृष्टि धमिला, आवाज मलिना भैसकेका थिए
हो, लौरीको सहाराले तिमी पुगेका थियौ, उही केराको बोटछेउ
त्यो जिनिस, जुन तिमीले धुलो माटोमा गाडेका थियौ
यतिखेर, तिमीजस्तै, पातविहीन फूलविहीन, रङ उजाड भैसकेको थियो
जराहरु फर्किएका थिए
डाँठभित्र कमिलाका गुँड
तिमीभन्दा अग्लो त्यो रंग बैजनी, भुइँमै लत्रिसकेको थियो
झ्याल मुनिका गमलाहरु पनि त लेउ र झारमा पुरिइसकेको थियो
अब बस्, त्यहाँ माटोको थुप्रो मात्र बाँकी थियो ।

न तिमीले भाइलाई देखायौ
न त बहिनीलाई,
आमा-बुवा त छुटिसकेका थिए
तिमी, थचक्क बसेर त्यहीँ टोलायौ !
एक्कैछिनको निम्ति तिमी फेरि घरबाट सुटुक्क हरायौ
तर यसपाला तिमीले भेट्टाएको जिनिस
तिमीले बाटोमै कता हरायौ
कता हरायौ
तिम्रो रंग बैजनी ?