गणेश तामाङ

म प्रत्येक चोकहरुमा
स्वघोषित अभियन्ताहरु देख्छु
जो अरुसँग मागेर बाँड्छन्
सपनाका पुलिन्दाहरु
मानवका दुःखलाई साट्छन् क्यामेरासँग
मानवीय संवेदनालाई बेच्छन् पलपलमा
सामाजिक सञ्जालका भित्ताहरु
युट्युबका च्यानलहरु भर्न
गरिन्छ यहाँ समाज सेवा
बिर्सिएका कैयौँ घाउहरु
मेटिएका अतीतहरु खोतल्दै
छर्दै पीडामाथि नूनचुक
व्याख्याता आफैँ कानूनको
प्रशासन आफैँ अदालत आफैँ
जुटेकालाई फुटाउन तल्लीन
क्षणिकताको आवेगले बिग्रेका घरहहरु
बिग्रेका परिपाटी र विकृत मानवहरु
आँसु र पीडाको चर्को व्यापार
अस्तित्वको खडेरी परेको युग

कयौँ दार्शनिक र बुद्धिजीवी
सिन्को नभाँची ठडाउँछन् तासका महलहरु
तजुप लाग्छ,
मानवीयता हराएकाहरु
ख्यातिका निम्ति गरिटोपल्छन्
देखावटी समाजसेवा ।