एकाबिहानै –
घामले झ्यालमा चुम्बन गरेपछि
मेरा पिठ्युँमा पुस्तकहरू
पिङ खेल्न आतुर हुन्थे
आँखामा अनगिन्ती सपनाहरू बोकेर
म दौडिन्थेँ काग, बत्तख अनि डाँफेका बथानहरूसँगै
दिलमा एउटा तस्बिर सजाएर

उसबेला
खल्तीमा रुपियाँको गन्ध थिएन
आवश्यकताको उँचो पहाड पनि थिएन

अहिले आफ्नै आँशुको पहिरोमा विलुप्त भएर
मेरो छायाले पनि वक्र आकार बदलेको छ
निधारले भाग्यको कुरुपतासँग मितेरी गाँसेको छ
मनको अन्धकार हटाउन पनि
बोतलहरूमा घाम भरेर पिउनुपर्छ हर साँझ

निर्दोष एनपी

दिलमा फुलेको उनको तस्बिरलाई
समयले टिपेर
यादको कारागारभित्र कैद गरिदिएपछि
ती पिङ खेल्ने पुस्तकहरू बिमार भए
आँखाका सपनाहरूमा डढेलो लाग्यो

र त, मैले रुपियाँको चिहानमा बसेर
यो कविता लेख्ने अवसर पाएँ !

धनगढी-१३, कैलाली