महाराज ! म भ्यु टावर चढिरहेछु
मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट
हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर
पहिलो तला
जहाँबाट सिंगमरमर र मार्बलको भुइँ टेकेर
खास टाढासम्म त केही देख्न सकिँदैन
तर युरोपियन सिसावाला झ्यालबाट प्रष्ट सुनिन्छ
एक भिखारीको रोदन, एक ठेलावालाको चीत्कार
पोलेको मकै, पानीपुरी र चटपटे बेच्नेहरुको कर्कस
दोश्रो तला
जहाँबाट नजिकैको सडक पेटी र गल्लीहरु देखिन्छन्
काम र मामको आशामा चौबिसै घण्टा
केही हात्ती छाप चप्पल र केही गोल्ड स्टार जुत्ताहरु
केही बूढो इस्टकोट र केही थोत्रा पाइजामाहरु
खाली पेट भौँतारिरहेका छन् यता उता
तेस्रो तला
जहाँबाट शहरको मध्यभागसम्म चियाउन सकिन्छ
र, देखिरहेछु मेरो शहरका अधिकांश वेदनाहरु
पर एक प्राइभेट हस्पिटलमा
बिल तिर्न नसकेर सड्न लागेको एक लाश
तल एक बोर्डिङ स्कुलमा
शुल्क तिर्न नसकेर घोक्राइएको एक कर्णधार
त्यहाँ एक लाइन होटलामा
दिउँसो पानी र राति जवानी बेच्न बाध्य एक चेली
उता एक प्राइभेट बैंकको काउण्टरमा
मासिक किस्ता तिर्न नसकेर रोइरहेको एक खुद्रा पसले
चौथो तला
जहाँबाट शहरभन्दा पर गाउँसम्मै देख्न सकिन्छ
बाउ खाडी र आमा पोइल गएको एक अबोध बालक
परिवारको भोक र लाज तानिरहेको एक रिक्सा चालक
पिठ्युँको भारी भन्दा गह्रौं मनको भारी बोक्ने एक भरिया
साहुको जमिनभन्दा ठूलो दुःखको पहाड जोत्ने एक हलिया
पाचौँ तलाबाट त महाराज
अचम्मै देखियो
शहरभन्दा टाढा समुन्द्र पारसम्म
छर्लङ्गै देखियो
सिमले खेत बन्धकी राखेर एक युवक
तातो बालुवामा ऊँटसँगै आफैँ चरिरहेको
स्वास्नीको गहना बेचेर एक लोग्ने
चौकादरी गेटमा कालो बुटसँगै आफैँ बजारिइरहेको
अरुलाई यौवनको पोखरीमा डुबाएर एक युवती
आफू निर्वस्त्र आँसुको तालमा डुबिरहेको
टिनको बाकसभरि पैसा जमाउने एक सपना
काठको बाकसमा आफैँ जमिरहेको
महाराज !
मैले त आँखा बन्द गरेँ
हेर्न सकिनँ यी सबै-सबै दृश्यहरु
चढ्न सक्दिनँ अब अरु तलाहरु
चढ्नुस् तपाईं पनि समृद्धिको यो भ्यु टावर
जहाँबाट देख्नुहुनेछ सुन्दर देशको यी कुरुप अनुहारहरु ।
चिचिला – २, संखुवासभा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।