
टीकाराम खनाल
पुस माघको
कठ्याङ्ग्रिदो जाडोमा पनि
मुटु डल्लो पार्दै,
हिमालको हिउँसँगै
भोक मार्ने आशाले
शीतको थोपा तप्प-तप्प
नाङ्गो टाउकामाथि
परे पनि
पर्वाहै नगरी
ढुङ्गा-ढुङ्गाको बीचमा
आलु फलाउन खोज्दैछौँ
हामी यहाँ छौँ
ओइलिएर झर्नै लागेका
सपना बोकी
गन्तव्यविहीन यात्री जस्तै- हामी
भौँतारिइरहेका छौँ
तपाईं कहाँ हुनुहुन्छ कुन्नी ?
अहिले-
सिंहदरबार हुनुहुन्छ या शितलनिवास ?
संसदभित्र हुनुहुन्छ या सडकमा ?
खै, हामी बेखबर छौँ !
किनकि,
हामी यतै व्यस्त छौँ
आज भरेको लागि
चारो खोज्दैछौँ
हामी यहाँ छौँ
डाँडा पारिको जूनजस्तै
आफ्नो सन्तानको मायाले
भक्कानिदै
दिन गन्दै बसेका
ती बा-आमाको
र
सिन्दुरको धर्कोले
बन्धनसूत्रमा बाँधिएकी
प्रेयसीको याद
हरदम मुटुमा साँचेर
अनि आफ्नो माटोका
एक-एक यादहरुलाई
सिक्रीमा कैद गरिएको छ
एकदिन
अवश्य पनि
त्यही माटोको सेवा गर्ने
दृढ अठोटका साथ
परदेशी भूमिमा
भेडा चराउँदै छौँ
महल ठडाउँदै छौँ
बालुवामा फूल फुलाउँदै छौँ
हामी यहाँ छौँ
घरभित्र बस्दा
घरकैको अन्याय र अत्याचार
उता छिमेकीको पेलाई
रातदिन आफ्नै भूमिको पहरा
एक इन्च जमिन पनि
पराईलाई नछोड्ने अठोट
अनि आफ्नैबाट
निरन्तर हेपिँदाको पीडा बोकी
अस्तित्व विहीनताको अवस्थामा पनि
कुनै कुराको पर्वाहै नगरी
आफ्नै माटोको रक्षार्थ
पूर्व, पश्चिम अनि दक्षिणमा
दिनरात व्यस्त छौँ
महाशय
तपाईं कहाँ हुनुहुन्छ कुन्नी ?
हामी यहाँ छौँ।
शान्तिको कामना गर्दै
समृद्धिको सपना साँची
न्याय र समानताको आशामा
बल्झिइरहेका घाउहरुमा
नून-चुक छरिएता पनि
औँशीका अँध्यारा रातहरु
पक्कै हट्नेछन्
अनि,
आउनेछ सुनौलो बिहानी भन्दै
दश हात जोड्दैछौँ
हामी त –
गास, बास र कपासकै लागि लड्दैछौँ
तपाईं अहिले
ठ्याक्कै कहाँ हुनुहुन्छ कुन्नी ?
हामी त चौतर्फी छरिएका छौँ
महोदय
हामी यहाँ छौँ
हामी यहाँ छौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

