जीवनवृत्तिका लम्पसार फाँटहरूमा
निरीह, कान्तिहीन अनुहारहरू
अन्तर हृदयमा गढेका
असैह्य खिलका पीडाहरू खप्दै
अबिरल चुहाइरहन्छन् आँसु
तप्प, तप्प।

जूनझैँ शीतल र
फूलझैँ कोमल प्रिय प्रेयसीलाई
आफ्नो न्यानो आलिङ्गनबाट छुट्याएर
सुनौलो पलको आशामा
ऊ उठ्यो काँधभरि
अनगिन्ती जिम्मेवारी बोकेर।

सीता अर्याल

कुवाजस्तै खोपिल्टा परेका
आमाका गहिरा आॉंखाहरूबाट
अबिरल धर्केका आँसु पुछिदिँदै
सुम्सुम्यायो चरण कमल
घोप्ट्यायो दिलभरिको माया पाउमा र
ऊ हिँड्यो पिठ्यूभरि बोकेर दुःखको पहाड।

केही थान नोटका बिटाका लागि
भोलिको सूर्योदयको आशामा
रङ्गीन सपनाहरू सजाउँदै
मसक्क आँटेर भासियो मुग्लानतर्फ।

स्यानो ओत
दु:ख सुख… तर
सबैभन्दा कष्टकर र लामो हुँदोरहेछ
प्रतीक्षाको पल।

डोरीको एकएक पोयोसित
बाटिरहेकी थिई फूलमाया आफ्नो भाग्य
माटाको कणकणसँग
साटिरहेकी थिई ऊ आफ्नो समय।

हरेक दिन धैर्य बनेर
सम्झाउँथे जीजिविषाहरू
हरेक रात आँसु बनेर ओर्लिन्थे
सिरानी भिजाउन उस्का पीडाहरू।

फूलमायाले देख्ने सपनाहरू
सुमधुर पनि त हुन्थे
भोलिको सूर्योदयपश्चात्
मेरो भाग्यको फूलबारीमा
अनगिन्ती कोपिलाहरू लाग्नेछन्
उघ्रिनेछ हाम्रो सुन्दर क्षितिज
अनि हामी पनि मनोहर आकाशमा
कावा खाइरहेका हुनेछौँ
आहा ! हाम्रो सानो स्वर्ग यहीँ हुनेछ।

तर… विधिको विडम्बना
अत्यन्त अशुभ समाचार
अनायास फूलमायाका सारा खुसीहरू
सुनामीले सर्लक्कै पारिदियो
मङ्गल धुनको साटो
गुन्जियो शोक धुन
रन्कयो विदीर्ण चित्कार
खरानी भए सबै रङ्गीन सपनाहरू

एकबीस वसन्त पनि पार नगर्दै
काँसझैँ फुल्न अभिशप्त विधवाको
करूण चित्कार मात्र … पहरोमा
ठोक्किन्छ र प्रतिध्वनित हुन्छ।

फूलमाया नि:शब्द थिई
ख़ाली आँसुको भाकामा बोलिरही
पुछियो उस्को सिन्दुर,
निर्मम लुछियो अमूल्य उमेर।

सुखको स्वाद चाख्नै नपाई
बलिबेदीमा होमिन अभिशप्त
अनगिन्ती युवाहरूको आत्माको
करूण चित्कार र आर्तनाद
खै कस्ले सुन्ला र ?
सायद
त्यही पहरोले सुन्ला कि ?
###

(कवि अर्यालका चार कथा संग्रह प्रकाशित छन् भने एक गीत प्रकाशोन्मुख छ ।)

बन्दीपुर बजार
हाल: म्याडिसन, अमेरिका