विनोद डि. भट्टराई

रातको सन्नाटा सँगै, मस्त चीर निन्द्रमा
पुरै देश सुतेको बेला
एउटा आर्तनाद सुनेर झस्केको म
कोल्टे फर्केर निदाउन खोज्छु
अनि सम्झिन्छु,
म ननिदाएकै वर्षौ भएछ

म घोत्लिन्छु, सम्झिन्छु, कल्पिन्छु
अनि, ननिदाएरै निदाउन खोज्छु
त्यो आर्तनाद भित्रका अन्तरकथाहरूमा
त्यो आर्तनाद भित्रका अन्तरकथाहरूमा म
म जस्तै शालिकहरू देखिरहेको छु,
तिनिहरू र म मा केवल एउटै फरक छ
म शालिक हुँ, तिनिहरू ज्युँदा शालिकहरू हुन

मलाई शालिक बनाएर उभ्याउने पनि
तिनै ज्युँदा शालिकहरू हुन
जो मेरो मृत्युलाई केवल मृत्यु मात्र देख्छन
मेरो भौतिक अस्तित्व समाप्त भएको घोषणा गर्छन
मेरो अवसानलाई मुद्दा बनाएर हिडेका उनिहरू
हिडिरहे,
अनन्त हिडिरहे
मेरो अवसानको शानलाई विर्सेर हिडिरहेका उनिहरू
मेरो नाम, मेरै त्याग र बलिदानको गजमा
सत्ताशीन हुँदै गर्दा
बेपरवाह र बेखवर छन मेरो अस्तित्व सँग
ती ज्युँदा शालिकहरू

मेरा आदर्शको गजमा पजेरो चढ्नेहरूले
मलाई बेचेर आलिशान महल पस्नेहरूले
मेरा तस्वीर भित्तामा टाँसेर
सिद्धान्त र मान्यताहरूलाई पटक पटक
दाहासाहीले टुक्र्याउँदै गर्दा
म सम्झन्छु ति जिउँदा शालिकहरू
म सम्झन्छु, सायद मेरो मृत्यु
मृत्यु नै थियो, शहादत थिएन

छोराको तोते बोलीले बाबा भनेको सुन्दा
मेरै गरिवीले मेरी प्रियसीको च्यातिएको फरिया देख्दा
कहिले नबगेको आँसु
मलाई पत्थरमा उभ्याएर माला लगाई दिने
ती ज्युँदा शालिकहरू देख्दा
यी पत्थरका निर्जिव आँखाहरूबाट
निरन्तर बगिरहन्छन अचेल

शायद मेरो अवशान, शान थिएन
शायद मेरो योगदानको दानको योग
ऋणात्मक थियो ।
शायद,
छोरोको मुहारमा मुस्कानको धर्सो
र,
श्रीमतिको च्यातिएको एक थान फरिया
फेरिदिन नसक्ने म
देश फेर्छु भन्ने सपना देख्नु
सपना नै थियो सायद

ती सपनाहरूको बोझले थिचिरहँदा
झन थिच्छ मलाई, मेरो दुखेको देशले
हे ज्युँदा शालिक हो
अब मलाई भेट्न आउँदा
गलामा लगाउने फुल हैन
कानमा लगाउने कपास बोकेर आउनु
बर्षौ भयो मलाई त्यो आर्तनादले निदाउन दिएको छैन

रातको सन्नाटा सँगै, मस्त चीर निन्द्रामा
पुरै देश सुतेको बेला
एउटा आर्तनाद सुनेर झस्केको म
कोल्टे फर्केर निदाउँन खोज्छु
अनि सम्झिन्छु,
मलाई निदाउन नदिने त्यो आर्तनाद मेरै त हो ।

कञ्चनरूप-12, सप्तरी
(हालः ताप्लेजुङ)