बुद्धले अहिंसाको पाठ पढाएको देशमा
गान्धीले जन्मेर अहिंसा बोलेको देशमा
म चाहन्छु, फेरि पनि प्रेम र शान्ति हुन सकोस्
मान्छे आफ्नै जिजीविषामा बाँचेर
बेअर्थका स्वभावहरू बेस्सरी कोचारेर
कति विडम्बनासित बाँच्ने गर्छन्
यो विडम्बनाले मान्छेलाई हरतरह निष्लोट बनाएर असफलतामा लागिरहेका हुन्छन्
एकछिनको जीतमा खूब रमाएर बाटाभरि जुलूस गरिरहेका हुन्छन् बेपर्वाह
असन्तुष्टिहरू भरमार भइरहेका हुन्छन्
पाहुना मान्छेका हुतिकारले
बैंश हराएका अस्तित्वहरू
कसरी गुज्रिरहेका हुन्छन्
कि आफ्नोपनका अस्तित्वमा बेखबर हुन्छन् मान्छे नामका बिन्दुहरू
कि व्यवधानमा हुर्रिरहेका हुन्छन्
अचेल यसरी नै कर्तव्यमा परिरहेका हुन्छन्
मान्छे विडम्बनाले गिजोलिएर हतार गरिरहेका हुन्छन्
आफ्ना आवेगको ज्वालामा दन्किएर नाश गरिरहेका हुन्छन्
जताततै हिंसा गरेर
आफू फेरि निर्वाध हिंसाबाट फेरि अलग्गिन खोज्छन्
जताततै सेता परेवा देख्दा आत्मा शान्तिका लागि सन्धि गर्दै हिंडछन्
शान्ति खोज्दै
कसरी अस्तित्वका जङ्घार तर्दै हिंडछन्
क्रुर सपनाले बोझिल भएर
विभिन्न तर्कनाका लहरमा
कलिला मस्तिष्कमा सङ्घर्षशील हुन मन पराउँदै
मान्छेका ताँतमा
कसरी भाग्न खोज्छन् हत्यादेखि
मान्छे जताततै सेता परेवा हेरेर रमाउँछन्
साँच्चै मान्छे शान्ति खोजिरहेछन्
विसङ्गतिका अद्भूत प्रणालीहरू
विध्वङ्सक शक्ति
काल क्रममा वैरागी भएर
मान्छे नैराश्यले कुण्ठित बन्छन्
अब मान्छेका हूलमा
विध्वङ्सक मेलामा आजित भएर
कसरी दिनहूँ शक्तिहीन बन्दै जाँदैछन्
वाक्क दिक्क भएर
आणविक युद्धले मान्छे पराजित भएर
मान्छे शनैः शनैः रित्तिरहेछन्
त्यसैले शान्तिका खोजीमा लागि पर्दैछन्
कोलाहलबाट भाग्दै-भाग्दै
मान्छे जीजिविषाका तनावबाट आजित हुँदै
सिङ्गो अस्तित्वलाई कायम राख्न
मान्छे कसरी गतिशील बन्दैछन्
शान्ति यात्रालाई तय गरेर
म त शान्तिका लागि अघि बढ्छु
शान्ति खोजिरहेछु
तर मान्छे प्रत्येक दिन आफ्ना घमण्डले चुर भएर
अहम् बोध गर्नका लागि
निरीह प्राणी भइरहेछन्
हरेक दिन शक्ति प्रदर्शन गर्दै फेरि
हरेक दिन विध्वङ्सक बन्दै जाँदैछन्
अनि हरेक दिन नासिएर
पृथ्वीमा प्रलय ल्याउँदैछन्
मान्छे आफैमा निर्लज्जता वहन गर्दैछन्
जीजिविषाका हेक्काले अस्पष्टता ल्याउँदैछन्
अब प्रत्येक दिन निर्वाध रोग निवारण गर्न
जीजिविषाका तनावबाट मुक्त हुन
आकाशको पूर्ण फैलावटबाट पूर्ण क्षितिज ताक्दै
शान्तिका सन्देश फिँजाउदै-हेर हेर सेता परेवा उडाउँदैछन् हरेक मानवहरू
म रमिता हेरिरहेको छु, एक्लै बसेर केही मुस्काउँदै……
(कवि कर्णबहादुर चामलिङ, भारतको पश्चिम बङ्गाल अधीनस्थ पञ्चायत तथा ग्रामीण विकास विभागमा कार्यरत । उनका‘मन’ काव्य 1993 र ‘असम्भावित’ कविता सङ्ग्रह 2016 मा प्रकाशित छन् ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।