एउटा आदेश आयो-
कविता लेख्नु !
सोधेँ, “कस्तो कविता लेखौं?”
आदेश आयो, “मैले सुन्न खोजेजस्तै।”
मौसूफले कस्तो कविता रुचाइबक्सेला ?
कस्तो शब्द महामहिमलाई कर्णप्रिय होला ?
कस्तो छन्द अनि कस्ता अनुप्रासहरु ?
कस्तो शेर अनि कस्ता काफियाहरु ?
यत्तिकैमा साथीले फोन गर्यो
भन्यो, “उनी राजा होइनन्, प्रधानमन्त्री हुन् ।”
“उनी रानी होइनन्, राष्ट्रपति हुन् ।”
मौसूफले अनि महामहिमले
ट्यापिङ गरेको फोनबाट
मेरो साथीले बोलेका शब्दहरु
पक्कै सुनिबक्स्यो होला
आफूले आफैँलाई राजा अनि रानी भन्दै
घोषणा गरिबक्सेको कुरा
त्यो नाथेले कसरी थाहा पाएन ?
सबैलाई खबर पुर्याउन

खटाइएको एउटा कागलाई

अमित

त्यही निहुँमा भर्खरै गोली हानियो
मेरो साथीलाई झिकाइयो
अनि खबर थाहा नपाएको आरोपमा
जेलमा थुनियो
मलाई जेलमा परेको मेरो साथीको
कविता लेख्ने मन थियो

मलाई ढलेको कागको वियोगमा

कविता लेख्ने मन थियो
मलाई आन्दोलनमा मरेका किसानहरुको
कविता लेख्ने मन थियो
तर टेबलमा एक कप रक्तिम, टर्रो चिया खाएर
मेरा औंलाहरु “मौसूफको जय!!” लेख्दै थिए
“मौसूफबाट भय” लेख्न नसकेर
म भयले काँपिरहेको थिएँ।
“मौसूफले किसान मरेको खबर थाहापाईबक्स्यो?”
यत्ति सोध्न नसकेर
मेरो कलम यन्त्रवत चलिरह्यो।
अचम्म!
मेरो कलमको कालो मसीले
अचानक रातो लेख्न थाल्यो
टेबलको चिया बेस्वादको लाग्न थाल्यो
रातो रङ्गको मसी
सायद मौसूफको प्रिय होला
मेरो चियाको स्वाद
सायद मौसुफको कपमा थपियो होला
मौसूफ मेरो कविता सुनेर
सायद खुसी होइबक्सेला
सायद “कमरेड”देखि सुरु हुने
महान् क्रान्तिको सुन्दर अन्त्य
“मौसूफ” नै होला।