पहेँलो आकाशबाट खस्न लागेको घाम,
उदयीमान कालो रातको पूर्वाह्नमा
एउटै समय, एउटै लय
कालै बादलको गतिसँगै लय मिलाएर
घर नजिकैको बूढो रुखतिरबाट
म सुनिरहेछु झ्याँउकिरीको सङ्गीत ।
यतिबेला सानो छोरो
भूकम्प ग्रसित घरको मझेरीबाट
आमासँग माग गरिरहेको छ
भा़ऽऽऽऽऽऽऽत
आमाको कुहिनो फाटेको चोली
मेरै निधार फाटेको टोपी र
छोराको पित्तले भुँडी एकनास, एकनास
आवाज दिइरहेछन् उस्तै
र म सुनिरहेछु झ्याँउकिरीको सङ्गीत ।
घाँटी छिन्नै लागेकी उसकी आमा
खेत रोपेको हिलो बोकेर ज्यानभरि
फाटेको चोलीभित्र साँचेर राखेको
एक फाँको आशा छोरातिर फाल्दै
मंसिरको आश्वासनमा स्तनपान गराँउदै
एकोहोरिएकी छिन उही मेरैझैँ
सुन्दै गहभरिको झ्याँउकिरीको सङ्गीत ।
घरनजिकैको त्यही बुढो रुख,
ढालिहाल्ने एहसास आउँछ मनमा र म बञ्चरो लिन्छु
धिपधिपे बत्तीको प्रकाशमा छोराकी आमाको छायाँसँगै
स्मृत हुन्छ, काटिएला रुख
र बन्द होला झ्याँउकिरीको सङ्गीत
तर अफसोच छ !
गहभित्रको झ्याँउकिरीको सङ्गीत,
के बञ्चरोले रोक्न सक्छ?
खस्छ बञ्चरो पनि खत्रक्क
भाग्य खसे जसरी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।