रोशन तिमिल्सिना

जिन्दगीका पाइलाहरु नचल्ने रहेछन्
मात्र समथर पथमा आफूले सोचेजस्तै
नबग्दा रहेछन् सुखद पल बतासमा सर्कोझैं ।

नदी बनेपछि नरोकिनू अवरोध आउँदैमा
बग्दाबग्दै ठेलिएर घातक बन्यो भने त
बस्ती नै बगाउन सक्छ, हराउन सक्छन् छाप्रा
बग्ने चिजहरु नरोकिकन निरन्तर बगिरहनुपर्छ ।

सूर्य उदाउन छोड्यो भने आकाशमा
धर्ती अन्धकार हुन्छ, रात बन्छ दिन पनि
पर हुँदैमा कसरी प्रेमभाव अन्त्य हुन्छ?
टाढा भएर पनि माया गाढा बनाउनको लागि
प्रेम गर्नु दुरीमा पनि आकाश-धर्तीको जस्तै।

सफल हुन त जिन्दगीमा
घडीको सुइजस्तै एउटै गतिमा हिँड्नू सधैं
ठिक समय देखाएपछि तिमी पनि
घडीजस्तै बाँधिनेछौ हरेक मस्तिष्कमा ।

कहाँसम्म फैलिएको छ संघर्षको अत्तर
नदौडिनू तिमी सपना खोज्दै कस्तुरीझैं
फैलिनु अत्तरको धर्म हो, दौडिनु तिम्रो भ्रम हो
गन्तव्यको बाटो-सपनाको मुहान फरक कुरा हुन् ।

हतारिएर २/४ वटा कविताले
कवि बन्ने भ्रमलाई अन्त्य गर्नुपर्छ
कलम बरु यसरी चलोस् वर्षौंसम्म शब्दहरुमा
ताकि मसी चुहिएर पनि पानामा कविता बनोस् ।

पोखरा, कास्की