डा. प्रदीप ढकाल

ए साथी, पर्ख न है
एकपटक यो बिसौनीमा बस्न मन छ
जीवनको भारीको बोझले
थाप्लोमा बनाएको नाम्लोको डाम छाम्दै
निधारमा बगेको पसिना पुछ्नु छ…

लक्ष्यमा पुगेपछि त फर्किनै छ
चुचुरोमा पुगेपछि झर्नै छ
लक्ष्यमा अघि बढिरहँदा नै
यात्राका मार्गमा नै जीवनको आनन्द लिनु छ…

कोदाली र कलम चलाउँदा चलाउँदै थाकेका औँला
चौतारीमा बसेर पड्काउनु छ
मार्गका ढुङ्गामा ठोक्किएर चोट लागेको रक्ताम्य औँलामा
रुमाल च्यातेर बाँध्नु छ…

मुटुको चोटबाट निस्केका पीडाका आहत
यही खुला क्षितिजमा चिच्याएर रित्याउनु छ
शरीरका घाउका ऐया र दर्दको त के कुरा भो र ?
नजिकैको खोलाको पानीमा धोएर बगाउनु छ
अनि,
युगौँदेखि दबिएर रहेका हृदयका व्यथालाई
हावाको वेगसँगै बहाउनु छ…

त्यसैले एकछिन भञ्ज्याङमा बिसाउन मन छ
एकछिन् भएपनि सुस्ताउन मन छ
चुचुरोमा पुगी जीवनको अन्तिम भारी बिसाउनुअघि
जीवन श्वास प्रकृतिमा विलीन हुनुअगावै
एकपटक लामो श्वास लिन मन छ…

त्यसैले, पर्ख है समय साथी !
तिम्रो समयको सुईले जीवनको पूरै फन्को मार्नुअघि
एकपटक यही चौतारोमा तिमीसँगै सुस्ताउनु छ
अनुभूतिहीन भई चीरनिद्रामा निदाउनु अगावै
तिम्रै काखमा पल्टेर
आकाशका चन्द्र र तारालाई दुवै हात जोडेर प्रार्थना गर्नुछ –
यो जीवनकथा,
यो जीवन व्यथा कसैलाई नभन्नु ल –
फेरि ऊ त्यो परको क्षितिज पारी
कहीँ कतै कसैको छाती चस्किन सक्छ
कसैको मुटु दुख्न सक्छ
उनैको मुटु फुट्न सक्छ ….