सम्झना छैन
सिद्धार्थको अनुहार
तर निधारको केन्द्रमा याद ताजै छ
ऊ ज्ञान खोज्न जंगल पसेको थियो
छाडेर अमृतभोजन जस्ता फूलहरुलाई
दरबारबाट केही पर पुगेर
धारिलो तरवारले आफ्नो
कपाल खौरिएको थियो
अनि सहायकको हातमा त्यसलाई
दरबार पठाइदिएको थियो
त्यो कपाल उसको राजमुकुट थियो
फिर्ता पठाइदियो र हान्नियो जङ्गलतर्फ
मलाई राम्रो हेक्का छैन
शुद्धोदनले त्यस कपाललाई
के ठाने
वा कस्तो मतलब बुझेर
त्यसको कसरी दाहसंस्कार गरे
वा गरेनन्
तर मलाई थाहा छ
सिद्धार्थले
जङ्गल पस्नुअघि
आफ्ना राजपोशाकसँग
कुनै भिखारीका झूत्रा लुगा साटेको थियो
अनि नाङ्गा पाइतालाहरुलाई
अनकण्टार जङ्गलतर्फ धकेलेको थियो
सिद्धार्थ राजकुमार थियो
त्यसैले परमात्माको दिव्यजादू बुझ्न
उसले भिखारी बन्नु पर्यो
किनभने यहाँ यदाकदा
सम्राटहरु भिखारी बन्न बाध्य हुन्छन्
तर भिखारीहरु भने यहाँ भिखारी नै रहन्छन्
सोध्न मन लाग्छ अहिले
के सिद्धार्थ एउटा नायक थियो
कुनै ईश्वरीय विराट परियोजनाको ?
कि त्यो भन्दा पनि अथाह
ऊ धर्तीको ऐनामा
आफ्नै परावर्तित रुप हेरेर
मुस्कुराइरहेको थियो
टाढा कतै धूम्रकेतुहरुमा ?
कि सिद्धार्थ छँदै थिएन पृथ्वीमा
र, केवल उसको छाया थियो कपिलवस्तुमा ?
युवक छँदा
उसको मस्तिष्क
रङ्गीचङ्गी कागजको गूलदस्ताले सजिसजाऊ
मनमोहक बगैँचा थियो
त्यहाँ घना जङ्गलको प्राकृतिक
चार वा आठ वा सोह्र कोषे झाडी त थिएन
त्यसैले संसारमा उसले जङ्गल खोज्नु पर्यो
परमात्माको महाजादूको रहस्य उजागर गर्न
घना जङ्गलमा
पूरै आठ वर्ष
जंगली सास फेर्नुपरेको हो त सिद्धार्थले ?
(यो केवल एक प्रश्नवाचक चिह्न हो !)
हुन त त्यतिबेलै पनि उसले
ट्रेडमार्क छापिएका निधारहरु दर्शन गरेकै हो
पहेंला वा सेता
रंगीन काँचुलीभित्रका मनुष्यचालहरु हेरेकै हो
उसले सबथोक गरेको हो
(सबथोकको विद्युतीय अर्थ लगाउन मिल्दैन !)
तर त्यो आदिम् सिद्धार्थले
साढे पच्चीस सय वर्ष अगाडिको,
श्वास प्रश्वासको वर्तुलाकार परिभ्रमणमाथि होश साँध्ने
आधा पलक खोलेर
आधा बन्द गरेर
आफैंभित्रको स्थूल र सूक्ष्म ब्रह्माण्डलाई
यथाभूतः
तटस्थभावले नियाल्न रुचाउने
सिद्धार्थले
शहर फर्किएर
पैसा किन्ने र पैसा बेच्ने काम गरेन
कालान्तरमा
विभिन्न पदार्थका मूर्तिहरुमा
भगवान भएर अवतार प्रक्षेपित
सिद्धार्थले
शहर फर्किएर राहुल लगायत धेरैलाई
भिक्षापात्रको रहस्य सिकायो
निश्चित रङका चीवरहरुको अर्थ बुझाइदियो
अनि सबैभन्दा नबिर्सिने काम
अस्तित्व जागरणको नरसिंगा बजाउने
त्यस श्याम सिद्धार्थले
ढुंगा, फलाम, सुन,
रेडियो, किताब, टेलिभिजन, कम्युटर,
बालुवा, लेदो र माटोलाई
प्रज्ञावान् बनाइदियो
अर्थात् जगाइदियो
प्राकृत र दिब्यजादूको रहस्य उजागर गरिदियो
तर धेरै मान्छेहरुले
ग्रहमा उसको उपस्थितिलाई
कागले बेल हेरे झैँ
टुलुटुलु हेरिमात्रै रहे
वा आफ्ना चुच्चाहरुले बेलको कठोर बोक्रा ठुङ्ने
असफल चेष्टा गरिरहे
तिनीहरुले न
सिद्धार्थ आएको थाहा पाए
न त गएको नै चाल पाए
अझै पनि ती मान्छेहरुका
विकसित वा अविकसित डिएनएहरु
कुनै मूर्तिलाई
बुद्ध भनेर
त्यसैको उष्ण आगोमा जिउ सेकाएर
जाडो उडाउने तीव्र चाहनामा
मस्तिष्कलाई व्यस्त बनाएर कारखानाहरुमा
आँखा चिम्लिरहेका छन्
ध्यान मुद्रामा
चुच्चो भाँच्चिइसक्दा पनि
उनीहरुले बेल ठुङ्न छाडेका छैनन्
मलाई दुःख लागेको छ
भगवान् गौतम बुद्धका ठूलाठूला
सुनौला अनि सुडौल
चिल्ला, महंगा र चित्ताकर्षक
मूर्तिहरुको सन्निकट रहेर पनि
बुद्धं शरणं गच्छामी
धम्मं शरणं गच्छामी
सघं शरणं गच्छामीको चर्को आवाजले
कंक्रिटका अग्लाअग्ला पर्खालहरुभित्र पद्यासन कसेर
कैयौँ सताब्दीदेखि
श्रृंखलाबद्ध वा अश्रृंखलाबद्ध
अद्भूत साधना गरेर बसेका मूर्तिहरु
आखिर किन आँखा खोल्दैनन् ?
लाग्छ उनीहरु
भगवान् गौतम बुद्धमा परिणत
सिद्धार्थको अवतारझैँ
महंगा र चित्ताकर्षक शरीर धारण गरेर
चोक चोक
गल्ली गल्ली
मन्दिर मन्दिर
गुम्बा गुम्बा
शून्यागार शून्यागारमा
मादक द्रव्यहरुको ऊर्जाले समाधिस्थ भएका छन्
समाधिस्थै भएका छन् !
मेरो मेरुदण्डको अनकण्टार हुटहुटीभित्र
घुमिरहेको यो कविता
वास्तवमा यहीँ समाप्त भएको छ
तर मेरो ह्रदयभित्रका केही शब्द
अझै पनि विष्फोट हुन खोज्दैछन्
ज्वालामुखीसरह
जो
कम्प्युटरको किबोर्डमा
टिक–टिक, टिक–टिक गरेर
मधुरो ध्वनि निकाल्न
मेरा औँलाहरुलाई अझै हौस्याइहेका छन्
मेरो हृदयको
त्यस अज्ञात आयाममा
बेलाबेला
मलाई नै टिक–टिक, टिक–टिक पार्ने
यी शब्दहरुलाई भने
अहिले यहाँ कविताको नाम दिन असमर्थ छु
त्यसैले यसको शीर्षक छ, अकविता
यस प्रकार
त्यतिबेला सिद्धार्थको मस्तिष्कमा
कारणवश
जङ्गल उम्रिन पाएन
फैलिन पनि पाएन
त्यसैले घना जङ्गलको वहिर्मुखी खोजमा ऊ लाग्यो
तर वर्तमान पृथ्वीका
घना जङ्गलहरुमा अहिले
शान्तिविजको सट्टा
भ्रान्तिविजहरु फुल्न थालेका छन्
अनि यता क्रान्तिविजहरु उम्रिएर
बडेमानका वृक्ष भएका छन्
यहाँ कुन साधकले त्यस्तो अति नै तातो
पृथ्वीको केन्द्रीय भागमा रहेको लावा जस्तो तातो
र,
बेलका बोक्राहरुले सुसज्जित
शून्यफल खाएर साधना गर्न सक्छ ?
त्यो अन्त्यहीन काँडे वृत्तमा
आखिर ऊ कहिलेसम्म फनफनी घुमिरहन सक्छ ?
त्यसैले अहिले
यदि कोही आधुनिक बुद्ध बन्न चाहन्छ भने
उसलाई एउटा विनम्र सल्लाह दिन्छु
एकजोडी अमृत भोजन जस्ता फूलहरुलाई
पानी, मलजल गर्न छाडेर
कुनै अज्ञात् कमलपुष्पको खोजीमा
घना जङ्गलभित्र पस्नु उपयुक्त नहोला
किनभने पृथ्वीका जङ्गलबीचका तलाउहरुमा
आजकलका कमलपुष्पहरु विषालु हुन्छन्
तिनीहरुमा कीटनाशक औषधि छिटेको हुन्छ
तिनीहरुमा अनेक विषालु रसायन हालिएको पनि हुन्छ
सिद्धार्थको बेलाको जमानाभन्दा
यो जमाना ठीक विपरीत छ
अब कंक्रिटका जङ्गलहरुभित्र नै
घना जङ्गलहरु चहार्नु पर्ने हुन्छ
जहा मांशरोबोटहरुको मस्तिष्क नै
घना जङ्गलको क्षेत्र बनेको हुन्छ
हो, सिद्धार्थको मस्तिष्कमा प्राकृतिक जङ्गल थिएन
उसको मस्तिष्कमा त
पूर्वनियोजित एउटा महापरियोजना अर्थात
कागतको कृत्रिम बगैंचा थियो
त्यसैले उसले जङ्गलको खोजीमा बहिर्मुखी हुनुपर्यो
उसलाई प्राकृतिक घना जङ्गलको जरुरत थियो
त्यसैले उसले खाली खुट्टामा नै परिबज्री हुनु परेको थियो
तर आजकल त
एकजोडी अमृत भोजन जस्ता फूलहरुसँग
केहीबेर रमाएर
अर्को बन्द आकाशमा मस्तसँग
जङ्गल विचरण गर्न सकिन्छ
हो, त्यही मांशरोबोटको मष्तिष्कभित्र
कुनै अज्ञात तलाउमा आरामसँग
प्राकृतिक अमृत पिएर
रहस्यमय पारामा
एउटा सुगन्धित कमलपुष्प
फक्रिएको भेट्न पनि सकिन्छ
तर यो जङ्गल भयंकर घना छ
जङ्गली जनावरहरुको भय पनि छ
जङ्गली मांशरोबोटहरुको त्रास पनि छ
लुक्दैछिप्दै अनि बच्दै
थोपाथोपा सास बचाउँदै
त्यहाँभित्र
स्वयम् बाटो खनेर अघि बढ्नु पर्ने हुन्छ
तपाईंसँग एउटा शक्तिशाली टर्चलाइट छ ?
त्यो जङ्गलमा सूर्यस्नान गर्न पाइँदैन
फेरि टर्चलाइट मात्रै भएर भएन
रिचार्जेबल ब्याट्री अनि
त्यसलाई चार्ज गर्ने सोलार यन्त्र पनि त चाहियो
हतियार बोक्नु पर्दैन
अर्थोक केही चाहिँदैन
एउटा हातमा आकाश मुठ्याउनु पर्छ
अर्कोमा त्यो शक्तिशाली टर्चलाइट
बस् यात्रा शुरु !
तर एउटा कुरा भने बिर्सिनु हुँदैन
टाउकोमा एउटा रुमाल
सेतो रुमाल चाहिँ बाँध्नु पर्छ, अनिवार्य
त्यो लगभग साढे छ फिट लामो र पाँच फिट चौडा
वा आवश्यक्तानुसार
सेतो, बिल्कुल गायत्रीश्वेत
एउटा रुमाल,
राजमुकुट छोप्न
(याद गर्नुहोस्,
सिद्धार्थले त्यसलाई खौरिएर दरबार पठाइदिएको थियो !)
अहिलेको समय
साढे पच्चीस सय वर्षपछिको समय
एउटा युगान्तकारी परिवर्तनको फेहरिस्तले भरिएको समय
कपाल खौरिएर ‘दरबार’ पठाउने जमाना अहिले छैन
(यता दरबारहरु अब खण्डहर भइसके
यता दरबारियाहरु अहिले जर्जर भइसके !)
त्यसैले एउटा सफा, स्वच्छ र पारदर्शी
बिल्कूल गायत्रीश्वेत रुमाल
शिरमा…
पूर्ण तयारीका साथ,
अज्ञात तलाउ तर्फको यात्रा हो आफैँभित्र
कमलपुष्प खोज्ने अभियानमा
जल्लाद तपाईंको पछिपछि
तरवार लिएर
अदृश्य शैलीमा
अनिवार्य पछ्याइरहेको हुन्छ
त्यसैले त्यो
जिन्दगीको अन्तिम वस्त्र
वा भन्नुस् कात्रो
के फरक पर्छ र ?
[embedyt] https://www.youtube.com/watch?v=-uwJeI68qA4[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 






