तपाईंलाई मैले लगाएको आइरन मन पर्दैन
आउनुस्
लगाउनुस् आफैँ,
तपाईं शायद त्यसमा कुशल हुनुहुन्छ,
तपाईंलाई
तपाईंको पाइन्टको बीचमा
मैले निकालेको क्रिजको धार
धारिलो लाग्दैन
आउनुस्
लगाउनुस् आइरन
र नखुम्चाउनुस् आफ्नो निधार
खुम्चियो भनेर कपडा ।
आउनुस्
निभाउनुस् यही कारण लागेको
तपाईंको असन्तुष्टिको आगो
अझ सक्नुहुन्छ भने,
कहिलेकाहीँ लगाइदिनुस् मेरा लुगामा आइरन ।
देख्छन् कि भनेर तपाईंको परिवारले
नलजाइकन !
सुन्नुस् त,
नदेख्ने गरी मात्रै कति माया गर्नुहुन्छ ?
तपाईंले मेरा कुन अँग छुन भएको छैन र
यति हिच्किचाउनु हुन्छ,
त्यही अंग ढाक्ने मेरो ब्लाउजमा आइरन लगाउन ?
तपाईंलाई मैले लगाएको आइरन मन पदैन
आउनुस्
सघाउनुस् मलाई
र मिलेर लगाऊँ आइरन
हाम्रो क्रिज नमिलेको सम्बन्धमा पनि ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला