भुवन न्यौपाने

एकाबिहानै,
आतिलो झोला बोकेर
साँघुरो गोरेटो बाटोको लयमा
खोला नदीनालाहरु तर्दै,
जन्मेहुर्केको मेरो प्यारो ठाउँ
माया र स्नेहको एउटा यादगार पोको
बोकेर म हुइँकिदै छु ।

खै कसले पो मलाई धकेलिरहेको छ
कर्मले हो कि भाग्यले
बाध्यताले हो कि रहरले
सुखले हो कि दुःखले
दुविधाको शिखरतिर दौडिदै छु ।

हृदयको अन्तस्करणमा अंकुराएको
एउटा कोमल कोपिलालाई
हुर्कंदै गरेको कल्पनामा
सपनाका भेलहरुमा तैरिँदै
अपेक्षाका अभिलाषाहरु
असीमित दायरामा तुफानसरी
बगिरहेका छन् ।

मेरो दिमाखमा कसले रोपिदियो
सटिक सुईंकुच्चावादी सोच,
कसरी अघि बढे मेरा पाइला
कहाँबाट आए मेरा बाध्यता
जन्मले मृत्युतिर धकेलिदिएजस्तो
कसले दियो भगौडाको परिचय ।

विग्रहको त्यो विन्दु र अनेकन पीडा
कि छोडेकाहरुलाई थाहा होला
वा पर्खाइमा बसेकाहरुलाई
जन्मभूमि छोडेर हिँड्नु
मेरो चाहना हो कि नियति,
संयोग हो कि समय

जीवन यात्रा हो भन्छन्
गन्तव्य कहाँ पुग्नु हो
थाहा छैन म खुशी मानूँ कि दुःख
अवस्थाले हो कि व्यवस्थाले
म पलायन भएको एक मनुष्य ।