
राम योञ्जन
बिर्सुं भन्ने मायालुले किन फेरि सम्झ्यो
खाटा बस्दै थियो घाउ किन फेरि बल्झ्यो
परेलीमा लुकाई राख्न पनि सकिएन
तर पनि तिमीलाई भुल्न किन सकिएन
मनको मेरो समुद्रमा तिम्रै यादको छल्को
जता हेर्छु उतै देख्छु तिम्रै रुपको झल्को
डोली चढाई घुम्टो ओढाई लान सकिएन
तर पनि तिमीलाई भुल्न किन सकिएन
सपनीमा आउँछौ तिमी अतित दुखाउँछौ
कल्पी कल्पी संझिएर माया बल्झाउँछौ
आँगन पोली जग्गे हाली लान सकिएन
तर पनि तिमीलाई भुल्न किन सकिएन
नजर जुधाई हेरिरहुँ लाग्छ तिमीलाई
अँगालोमा बेरिरहुँ लाग्छ तिमीलाई
सिंदुर पोते उपहार दिन सकिएन
तर पनि तिमीलाई भुल्न किन सकिएन
पोखरे, भोजपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 





