तिमी एक नारी हौ
र त
समाजको मर्यादा, गौरव र प्रगतिप्रति
पूर्ण जिम्मेवार हुन्छ्यौ तिमी
लालच, सुविधा र सम्मानको स्वार्थभन्दा
माथि उठेर शान्ति, न्याय र मेलमिलापको
बाटोलाई अङ्गीकार गर्छ्यौ तिमी

एउटी नारीको अस्तित्व
सृष्टिसँग तुलना गरिँदा पनि
हरेक पक्षका गुण, अवगुण र दोषहरु
तिमीमाथि थोपरिँदा पनि
अमूल्य जीवनलाई सार्थक तुल्याई
पलपलमा संघर्ष गर्छ्यौ तिमी
यस संघर्षशील मैदानमा उत्रिदा
सफलता र असफलतासँग जुध्दै
फेरि
सफलतामा मुस्काउँछ्यौ तिमी
कहिले असफलताको तीतो अनुभवसँग
निराश हुन्छ्यौ तिमी
कहिले ओठमा मुस्कान

गालामा लाली पोतेर
आशाका रङ्गीन कल्पना कोर्दै
स्वर्णिम भविष्यको कल्पनामा डुब्छ्यौ तिमी
त्यसैले त म भन्दैछु
तिमी सृष्टिको विधाता हौ
तसर्थ
यही नै एउटा जीवन हो जसले
जीवनलाई सरलता दिने गर्दछ।

भरतपुर, चितवन