केराको पातमा पका’को मकै–रोटी, खाइन्थ्यो निख्लो आँटो मोहीसित
अहिले फलफूलसँगै विषादी खाइन्छ, छ अर्गानिक खानेकुरा कोहीसित ?
ए अहिलेका भुराभुरी हो ! हामीसँग जहिले ज्ञान विज्ञानको फूर्ति लाउँछौ
आगोमाथि माटोको हाँडीमा भुटेको मकैको स्वाद के चाउचाउमा पाउँछौ ?

दिनभरि ब्याट्री घाममा सुकाई बेलुका ‘चौतारी’ सुनिन्थ्यो
मुखिया बाको सत्यनारायणको पूजामा मायाजाल बुनिन्थ्यो
ए अहिलेका भुराभुरी हो, हामीसँग जहिले सूचना प्रविधिको धाक लाउँछौ
हाम्रो पालाको जस्तो चोखो माया र प्रेम के फेसबुक र युट्युबमा पाउँछौ ?

दुईजना तर मिठाइ एउटै, कमिजको फेरको पोको दाँतले टोकेर
दुई टुक्रा एक एक बाँडिन्थ्यो चीज हरेक, साथीको माया लौ हेर
ए अहिलेका भुराभुरी हो ! हामीसँग जहिले ‘बेस्टफ्रेण्ड’ छ भनी गफ लाउँछौ
पहिलेको जस्तो आत्मिय साथी, गोजी तौलेर खोजी हिँड्दा तिमीले कहाँ पाउँछौ ?

लालुपाते फूलको चोब निकाली छोक्राको गुइगम बना’र खाइन्थ्यो
खोली खेतको दाँइको खानामा अलग्गै वनभोजको स्वाद पाइन्थ्यो
ए अहिलेका भुराभुरी हो ! हामीसँग ‘मोर्डन फुड टेक्नोलोजी’ को धक्कु लाउँछौ
पहिलेको जस्तो खाने, पिउने र जिउने कला अहिले खोजेर तिमीले कहाँ पाउँछौ ?

अभावले जन्मियो मीठो अतित, पैसाले किन्छु भने नि पाइएन
दुःख हण्डर खाइयो, मजाले पचाइयो तर हरेश चाहिँ खाइएन
ए अहिलेका भुराभुरी हो ! हामीसँग जहिले ‘सुविधा’को घमण्ड देखाउँछौ
पुर्खाको इतिहास, संस्कार र संस्कृति बिर्सेर आखिर तिमीले के पाउँछौ ?

वालिङ–७, केवरे भञ्ज्याङ, स्याङ्जा