खै… न सिरक न डसना,
अलिकति झिनो विश्वास…,
हिउँदको शित ओडेर,
खाली आन्द्राका तार बजाउँदै….,
खुला आकाशको छानामुनि……,
न डर न त्रास……….।
अल्ला, खुदा, गड……?
खै कसले बिछाएका आँखामाथि….,
म फुस्स निदाएको मानिस ।
** **
दिनभरि सडक नापेर…,
लाखौं किलोमिटर पार गर्न बाँकी छँदै..,
ठिंङ्ग उभिएको सल्लो….,
जोरशाल बजार नपुग्दै…,
फत्याक्क गलिसकेको भरिया…।
न सुँगेर सुगन्ध छरियो उसमाथि,
न उँगेर रात भरियो भूसमाथि,
खै कसले रोपेका विचारहरु…,
म त्यही विलाएको मानिस ।
** **
बिहानै उषाको किरण..,
शान्तिको पिठ्यूँभरि पोखिन लाग्दा…,
बादल तानेर लुक्ने हिमाल…,
न लजाएकी पातर आइमाई….,
बलत्कार भइरहँदा….,
न रोक्न सक्ने लागत भएको…,
न ठोक्न सक्न तागत भएको..,
लाचार बादशाहको शालिक…,
म उसकै छायाँले पछ्याएको मानिस ।
** **
मानिस…, मानिस…, मानिस ..?
एक्काइसौं शताब्दिको सभ्यतासँगै,
धर्तिको एक मुठी माटो खोज्दै…
पूर्खाको बिर्ता सिँगार्न…,
कहिले जात कहिले धर्म…,
न पहाड न मधेस…?
खै कसले हो ..? दोबाटोमा,
बेवारिसे फालेको लाश,
म उस्कै मलामी जाँदै गरेको मानिस ।
** **
कालरात्रिमा रातो झण्डा…,
सूर्य र चन्द्र बोक्दै,
छुनै नसक्ने आगोका लप्काहरु
खाली पाइतालाले बुताउँदै….,
बाबु बिनाको छोरो….,
आमाको नाङ्गो आङ्ग ढाक्न,
सीमापारि पसिना बगाउने,
तन्नेरीमै बूढो भइसकेको..,
म उसकै अवैध पिता..,
शरम पचिसकेको मानिस
** **
कहिले गोरखाको जौ बारीमा
कहिले दाङको कोइलाबास..,
थर्पु होस या थेचुम्बा,
हलेसी बजारमा भेटिन सक्ने,
संक्रान्ति बजारमा गित…,
ठूली बेसीको खेतालो होस..,
वा चुरे लेखको गोठालो
रत्न पार्कमा घाम तापेर बदाम छोडाउँदै,
लुटिएको अस्मितालाई खोजिरहेको मानिस ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।