सवालहरु जबसम्म मबाट हाम्रो बन्दैन
मेरो जिन्दगीका भोगाइहरु
जबसम्म म भित्र मात्र सीमित हुन्छ
हाम्रा अधिकारका एक थान दस्तावेजहरु
जब धुलाम्य भएर थन्किन्छन्
म मेरा अधिकारका दस्तावेजमा जमेका
ती धुलाहरुलाई टकटक्याउँदै
फेरि पनि भन्छु
ए सरकार मलाई
दयाको एक थान दृष्टिले मात्र हैन
हाम्रा अधिकारका ती दस्तावेजहरुलाई कार्यान्वयन गर
जब गुड्न सक्दैनन् मेरा ह्विलचियरहरु
तिम्रा ती सडकमा
जबसम्म बन्न सक्दैन
मैले काम गर्ने मेरो कार्यालय अपांगता मैत्री
र प्रश्नहरु उठाइन्छ मेरा कार्य क्षमतामाथि
अपांगता भएका व्यक्तिहरुको
अधिकारको यो लामो लडाइँमा
हामी मात्रै हिडेछौँ साथी
कृत्रिम हात अनि कृत्रिम खुट्टाहरुसँग
हामी मात्रै हिडेछौँ साथी
त्यो क्यालिफोरले बनाएका चोटहरुलाई महसुस गर्दै
नत्र यो सभ्य समाजका बुद्धिजीवीहरु
किन त्यति सजिलैसँग दाँज्छन्
हरेक भत्केका टुटेका अनि फुटेका व्यवस्थाहरुसँग
मेरो शारीरिक कमजोरीलाई
हो, हामी मात्रै हिडेछौँ साथी
यो आवाजको दुनियाँमा सांकेतिक भाषाबाट
आफ्ना अधिकारहरु खोज्नलाई
पीडाहरु जब मबाट हाम्रो बन्दैन
हाम्रा सवालहरु जबसम्म साझा सवाल बन्दैन
तबसम्म समाज परिवर्तन गर्नको लागि
लेख्ने एउटा लेखकले पनि
बडो गर्वका साथ प्रयोग गरिदिन्छ त्यो असभ्य शब्दावलीलाई
सोच्ने गर्छु के ती असभ्य शब्दावलीहरुले
के यो सभ्य समाजको मुटु दुख्दैन
कि मुटु बिना नै चल्दै छ
यो सभ्य समाजका सभ्य मानिसहरुको संसार
ए पाँच फिट पाँच इन्चका मान्छेहरु
कसरी तिमीले बेवास्ता गर्न सक्छौ
मेरो दुई फिट पाँच इन्चको शरीरलाई
तिमी बलियौ छौ
यस्को मतलब यो होइन कि
यहाँ तिमी मात्रै छौ
कसरी तिमीले मेरा भोगाइहरुलाई बेवास्ता गर्न सक्छौ?
हाम्रा तमाम ती लडाइँहरुलाई
कसरी तिमीले बेवास्ता गर्न सक्छौ?
के सक्छौ तिमी
मात्र एक दिन आँखामा पट्टी बाँधेर हिँड्नलाई?
के सक्छौ तिमी एक दिन मात्र
आवाजविहीन बनेर हिँड्नलाई?
के सक्छौ तिमी एक दिन मात्र
मेरो ह्विलचियरमा बसेर हिँड्नलाई?
बस एक दिनको लागि मात्र भए पनि महसुस गरिदिनु
हाम्रा तमाम ती भोगाइहरुलाई
तिमीले पनि बुझ्ने छौ
बाधा मेरो शरीरमा कहिले थिएन
बाधा त तिम्रो भौतिक संरचनामा थियो
जस्को कारण पटक पटक रोकिरह्यो
मेरो जिन्दगीका यात्राहरुलाई
फेरि पनि आह्वान गर्छु
आऊ मेरा सेता छडीहरु
आऊ मेरा वैशाखीहरु
आऊ मेरा कृत्रिम हात खुट्टाहरु
आऊ साथीहरु हातबाट संकेत गर्दै
अझै पनि बाँकी छ
तिमीले र हामीले पार गर्नु पर्ने
अवरोधका ती लामा श्रृङ्खलाहरु
हो अब सबै मिलेर कार्यान्वयन गराउनु छ
हाम्रा अधिकारका ती एक थान दस्तावेजहरुलाई
जस्को निम्ति लडेका थियौँ हामीले
एउटा लामो लडाइँ
हे सुनाखरी हुँ म भीरमा नै फुल्ने छु
कमलको फूल हुँ म
हिलोमा नै फुल्ने छु
त्यसैले जस्तो छु म जे छु म
बस मलाई निर्वाध रुपमा फुल्ने
एउटा साँझा बगैँचा देऊ।
रुपा थापा
विदुर, नुवाकोट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।