विनोद नेपाल

अस्वाभाविक र आकस्मिक ओहरदोहर
‘पाहुना’हरुको,
अनि, नग्न नृत्य
स्वाभिमानका गीत गाउनेहरुको,
लाग्छ, ताल मिलेको छैन
अहँ, चाल मिलेको छैन ।

तैपनि सन्तुष्ट छन् उनीहरु
ढुक्क, निर्धक्क छन् उनीहरु,
बचाउमा चर्को स्वर निकाल्छन्
अनौठो लाग्छ
देखेर प्रफुल्ल मुद्रामा उनीहरुलाई ।

कठै ! कस्तो हविगत हो यो ?
खस्कंदो सम्मान,
स्खलित स्वाभिमान,

तैपनि सन्तुष्ट ?
अहो !
साँच्चिकै अनौठो हुँदोरहेछ सत्ता र सत्ताको खुसी ।

उदेकलाग्दो गरी रमाएको छ सत्ता
सुन्छु अझै चुलियो रे सगरमाथा
तर,
देख्छु निरन्तर निहुरिएको शिर
नेपाली पहिचानको,
नेपाली स्वाभिमानको
यसैले
साक्षी राखेर पशुपति–स्वयंभू
गरिरहेछु कामना
गरिरहेछु प्रार्थना
नहोस् कुनै दुर्घटना ।