ओ महाशय !
जब तिमीले मलाई
तिम्रो कार्यकक्षको
बाहिरपट्टिको ढोकैमाथि
ठूला अक्षरहरुमा टाँगेर
ठोक्यौ प्रतिबन्ध
हो, पुलकित भए आममानिसहरु
तर म भने
तिम्रो आँखाको भाकामा
पुगेँ तिम्रो चुठो–चुलो सबैतिर ।

जुन दिन मैले
पाहोमडबाट लोभ ल्याएर
तिम्रो आँखामा टाँगेँ
आशक्ति ल्याएर तिमीभित्र उमारेँ
र पारेँ तिमीलाई मेरो मायाजालमा
त्यही दिनदेखि
स्वीकारेका हौ तिमीले मेरो दासता ।

हेर,
जसरी थामिएको छ
यो भीमकाय रुख र उसको विरासत
उसका बलिया जराहरुले
र परेको छ उसको कालो छायाँ अरुमाथि
ठीक त्यसैगरि
म पनि ठडिएको छु युगौंदेखि
राजनीति र कर्मचारीतन्त्रका
मूल जराहरुले
निजी कम्पनी र व्यापारीका
सहायक जराहरुले
र सर्वत्र फैलिएका मेरा यी जराहरुले
अँठ्याएको छ समृद्धिको घाँटी
बाँधेको छ विकासको खुट्टा
भत्काएको छ सभ्यताको पर्खाल
र निमोठेको छ सुन्दर सपना ।

हेर,
यो मूल जरामाथि केन्द्रदेखि
कसरी मौलाएर फैलिएको छ
तलतल चारैतिर बलियोसँग ।

भन अब
समृद्धि रोज्छ्यौ कि मेरो अन्त्य ?

मलाई अन्त्य गर्न
बन्द गर म छिर्ने
तिम्रा लोभका प्वालहरु
बाँध मलाई बलियो गरी
तिम्रा कानुनका सिक्रीहरुले
बनाउ राजनीतिलाई
जवाफदेही र पारदर्शी
सुन नागरिक आवाज
र काटिदेऊ मेरा जराहरु

तब हुनेछ म भ्रष्टचारको अन्त्य ।

(नोटः लियो टोल्सटोइको हाउ मच लेण्ड अ मेन निड्स कथाको मुख्य पात्र हो पाहोम (पाखोम) जसलाई मान्छेमा हुने अधिक लालच र त्यस प्रतिको आशक्तिले तिम्त्याउने आफ्नै विनाशलाई विम्बको रुपमा लिएको हो।)