प्रेमको एउटा मात्र नियम छ
प्रेम निरन्तर भइरहनु पर्छ
जीवन बाँच्नु नै यदि पर्छ भने
जन्माइरहन पनि सक्नु पर्छ प्रेम
जस्तो कि
विरुवालाई पानी दिइरहनु
जस्तो कि
भोकोलाई खाना दिइरहनु
या
वज्रको अनेकन प्रहार खपेर
हिमालयझैँ
ठिङ्ग उभिइरहनु र
बिना शर्त
हिमनदी बगाइरहनु
या
पटक पटकको
बालकको लात्तीमा
चुपचाप स्तनहरु चुसाइरहनु
या
एउटा बूढो बालक
आफ्नो कखरापाठशालाको
कन्त विजोग देखेर
मक्किएको तख्ता समातेर
भक्कानिइरहनु
या
कथित तल्लो भनिएर पनि
पुर्खाको पेशा अँगालेर
कथित उपल्लाहरुको
आवश्यकता सम्बोधन गरिरहनु
या
बगरको वेदना छोपेर
आदिम युगदेखि
काँशजस्तै मुस्कुराईरहनु
या
घनघोर जंगल बिचमा
शत्रुको गोलीले
अन्तिम निश्वास
छोड्दै गरेको
सिपाहीले जस्तै
माटोको टीका लगाइरहनु
या
या चिता पखालेको
वर्षौंपछि पनि
बा-आमाका पदचापहरु
मन बीचमा सजाइरहनु
हमेशा मन अन्तरमा
प्रतिदान बोकेर
डाँडाको बूढो पिपलझैँ
तपिरहनु
यस्तै यस्तै
प्रेमको एउटा मात्र
नियम छ
प्रेम सधैँ
भइरहनु पर्छ।।
मेचीनगर-१०, झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।