दशकौँदेखि कुरेको संविधानको ठेली
कसको लागि बन्यो ?
कसको लागि बन्धन हो-
अनि, कसको लागि नियम हो ?
भोकाको भोक मेटिएन
नाङ्गाको जिउ छोपिएन
सडकपेटीमै सुत्नेहरु
अनिद्रै बसिरहे रातभर, वर्षायाममा
सरिशृपको डरले ।

सेतोलाई कालो भन्न मिल्दो रै’छ
चाहने भने त,
कालोलाई सेतो पनि !
भ्रष्टाचारीलाई सम्मान-बलात्कारीलाई उन्मुक्ति,
निर्दोषलाई जेल-गरिबलाई सास्ती,
जित्नेलाई हराउन,
अनि हार्नेलाई संसद् हुँदै
मन्त्रालय छिराउन पनि सकिदो रै’छ
यहाँ हरेक, हरेक कुराहरु
मिलाउन मिल्दो रै’छ
न्याय र कानुनलाई मुठ्ठीमा लिएपछि ।

दिनेहरु र दिएको खानेहरु बीचको
खाडल पुर्न चाहिँ कहिल्यै पनि नमिल्दो रै’छ !