रहर थियो नि तिमीलाई सहर लैजाने
सानो मोटरमा राखेर ठूलो अस्पताल पुर्याउने
ठूला सरहरुले तिम्रा क्यान्सरहरु मिल्काएको हेर्ने
…
घाम छउन्जेल भारी बोकेको थकान मेट्न दोकान पस्थेँ
मन्दिरमा हात जोड्दै तिमी पूजाकोठामा बस्दा
मदिरामा मुख जोड्दै म सुत्नेकोठामा पस्थेँ
कुचो खोज्दै मदिरा खोस्दै
झ्यालढोकाको छेस्किनी लगाएर बेस्कनी पिट्थ्यौ तिमीले
हाम्रो अस्पस्ट खैलाबैला सुन्न
आफ्नो कानलाई हाम्रो झ्यालसम्म लम्ब्याउँथे छिमेकी
सबेरै उठेर भन्थेँ मैले-
तिमीलाई कहिल्यै रोगरहित, भोकरहित र शोकरहित राख्न सकिनँ है कान्छी?
तिमीले भने सधैँभरि भनिराख्यौ,
मलाई तिम्रो मानसपटलमा राख- राखेँ
मलाई तिम्रो मुटुमा राख- राखेँ
मलाई तिम्रो आँखामा राख-राखेँ
आज तिम्रो वियोगमा
चितामा आगो ठोसेपछि
भित्तामा टाउको ठोक्न लाग्दा
– तिमीले ऎय्या भन्छ्यौ कि जस्तो लाग्छ।
छातीमा मुड्की बजार्न खोज्दा
-तिमीले दुख्यो भन्छ्यौ कि जस्तो लाग्छ।
आँखाबाट आँसु बगाउन लाग्दा
-तिमी खसिजान्छ्यौ कि जस्तो लाग्छ।
हेर न!
मैले चुपचाप तिमीलाई धुवाँमा उडेको हेरेँ भनेर
लोकले हल्ला मच्चाउँदै हावामा एउटा खबर उडाएको छ-
`लोग्नेको कुटाइबाट स्वास्नीको मृत्यु !´
कान्छी !
तिमी गएपछि मलाई
यो लोकभन्दा परलोक प्यारो लागेको छ
म मास्तिर हेरेर तिम्रो बाटो कुरिरहेको हुनेछु
या त तिमी छिट्टै खस्नु, यहाँ त म छिट्टै खस्नेछु।
बौँदीकाली, ०१, नवलपुर
हाल: धरान
केन्द्रीय प्रविधि क्याम्पस, धरान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।