झरी जाने फूलहरु
बग्दैबग्दै लेकाली खोलाको लयसँग
कतै अनन्तमा विलिन हुन्छन्
ठ्याक्कै मेरा सपनाहरु जस्तै
पखेरा उस्तै छन्
सुवास उस्तै छन् लेकाली फूलहरुको
यत्ति हो
तिमी छैनौ
केवल तिम्रा पदचापहरु छन्
उस्तै छन् नागबेली परेका
यी लेकाली गोरेटाहरु
गोधुली साँझमा
थकाइ मार्ने हात्ती ढुँगो
चुपचाप छ
बगिरहेछ समयको
निरन्तर खहरे उसैगरी
उस्तै गतिमा झरिरहेछन्
लेकाली फूलहरु
बगिरहेछन् खोलाको लयसँगै
चुँडिएका फूलहरु पनि
सुन्दर छन्
गुन्गुनाइरहेछन् लयबद्ध संगीत
बग्दै बग्दै जाँदा पनि
मुस्कुराइरहेछन्
झरी जाने फूलहरु
उत्सव मनाइरहेछन्
मेरा सपनाहरुको मृत्युमा !
मदनपोखरा, पाल्पा
हालः जेनेभा, स्विट्जरल्यान्ड



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
९ माघ २०८२, शुक्रबार 









