मुस्कान पुन

मलाई ताजुब लागेर आउँछ
मलाई शोक लागेर आउँछ
आखिर के रहेछ जातमा ?
कयौंपटक पिरोलिन्छु म
कयौंपटक ध्यानमग्न हुन्छु म,

हो, म त्यही जातको हुँ
जसले जातकै कारण,
प्रेम गुमाउनुपरेको छ
घरबार गुमाउनुपरेको छ
ज्यान गुमाउनुपरेको छ
सबथोक गुमाउनुपरेको छ,
आखिर किन ?

मैले बनाएका ती खुकुरीले
मेरो देशको शिर उच्च रहिरहँदा
खै किन तिमी मलाई
तल्लो सम्झिन्छौ ?

छोड अब अपवादका कुरा
समाज भाँड्ने जातका कुरा
आऊ हामी सँगै मिलेर बसौं,

प्रेम गर्दा मारिनु पर्ने
पानी छुँदा काटिनु पर्ने
बास माग्दा लखेटिनुपर्ने
अहो! यो कस्तो मानवीयता ?

ऐ सुन त,
मेरै थुकले भिजेको
कपडा लगाएर
भलाद्मी बनी शिर उठाउने तिमी
खै किन मलाई
शिर झुकाउन बाध्य बनाउँछौ ?

तिम्रो विभेद सहनुपर्ने
तिम्रो तिरस्कार सहनुपर्ने
आखिर कहिलेसम्म हँ ?

काटे रगत सबैको रातो हुन्छ
टेक्ने ठाउँ सबैको माटो हुन्छ
हो त्यसैले त
छोडौँ अब काट्ने मास्ने कुरा
गरौँ अब सम्बन्ध गाँस्ने कुरा
आऊ हामी मिलेर सद्भाव जगाऔँ

मैले पिटेको फलाम चलाएर
हातमुख जोड्ने तिमी,
मैले बाजा बजाए मात्रै
शुभ हुने तिम्रो बिहे,
मैले फाली र कोदाली बनाए
अन्न उब्जने तिम्रो खेत
मैले बनाएको गजुरले
सन्तृप्त र पवित्र हुने तिम्रो मन्दिर
तर
मलाई अछुत बनायौ कसरी ?

ऐ, उपल्लो जात भनिने तिमी
अब त सुन्यौ होला नि
अब त बुझ्यौ होला नि

म त यो समाजको स्तम्भ रहेछु,
समाजिक आवश्यकताको परिपूर्ति रहेछु,
यो समाजको अमूल्य अङ्ग रहेछु,
हो,
म पनि तिमीजस्तै मान्छे रहेछु,

त्यसैले
आऊ अब हामी विभेद नगर्ने
प्रण गरौँ,
आऊ अब हामी सभ्य समाजको
निर्माण गरौँ;
हो, यही हो मेरो
वर्षौंदेखि दबिएको आवाज।