सोनाम लामा तामाङ

कठै !
कस्तो कहालीलाग्दो
र्‍याइँर्‍याइँ शोक धुन बजेको मात्र सुन्छु
जताततै
बिहान सबेरै अखबारमा
ताजा खबर देख्छु
कस्तो अत्यासलाग्दो
कस्तो दुखलाग्दो
हेडलाइनहरु
‘नेपाल भ्रष्टाचारमा सबैभन्दा अगाडि…’

रेडियो खोल्छु
त्यहाँ पनि
भ्रष्टचारीहरुको र्‍याइँर्‍याइँ
शोक गीत गुन्जिरहेको सुने
टिभी खोले
कोही पड्किरहेको
कोही पुर्पुरोमा हात राखेर
सुर्ता मानिरहेको
कोही विवाद गर्दै
शोक मनाइरहेको देखे ।

शिरमा ढाका टोपी
र ग्वाम्मको कोटमा एक जना
महाशय भन्दै थिए
यो त उहिलेदेखि चलिआएको महारोग हो
यसलाई जरैबाट
उखेरेर फाल्नु पर्छ
कोही भन्दै थिए
प्रधानमन्त्रीको नामै तोक्नु
चिन्ताजनक विषय हो
र अर्को कपाल फुल्नै लागेको
पापरवाला चस्म लगाउने
व्यक्तिले भन्दै थिए
१०० प्रतिशत जनताले
प्रधानमन्त्रीकै तहबाट
भ्रष्टाचार भएको हो
भन्नु पर्थ्यो ।

यसैबीच
कोही बलात्कारी बढ्यो भन्छन्
कोही भ्रष्टाचार बढ्यो भन्छन्
कोही भोक लाग्यो भन्छन्
कोही रोजगार दे भन्छन्
कोही बलात्कारीलाई फाँसी दे भन्छन्
कोही भ्रष्टचारीलाई फाँसी दे भन्छन्

भन्दो हो
एक आदर्शवादी नेता
यो त पहिले पनि भाथ्यो त
सोच्दो हो
एक महान देशभक्त नेता
कस्तो र्‍याखर्‍याख पारेको
यी नाथे रैतिहरु
मेरो सरकारलाई देखिसहन्नन्

भोलिपल्ट अखबारमा छापिएछ
पहिलोपल्ट प्रकाशित मिति राखेर
नेपालको सबैभन्दा
ठूलो जेल बनाउने
बेलपत्रसम्बन्धी सूचना ।