तिम्रो कसम कुङ्ग्बा ठुली
ओलाङ्ग्चुङ्गगोला ओरिपरिका हिमचुलीहरू
प्रचण्डघामको रापले पग्लिएजस्तै
पग्लिंछु तिम्रो मायाको रापले

खोई कुन्नी कुन युमामाङ्ग उठाएर
के जादु टूना गर्यौं
हरपल आँखा ओरिपरि
नाचिरहन्छ तिम्रा रंगीन तस्बिरहरू

लाग्छ तिमीलाई हिउँभै अँगालौं
कंचनजंघाभै चुमुं तमोरले किनारा छुँदै बगेझैं
सुस्तरी सुमसुमाउँदै तिमी भित्रभित्रै बिलाउँ

नजाने गाउँको बाटो अल्मलिएको
यात्रीझैं म आफ्नै मनको वृन्दाबनमा अल्मिलिरहेको छु

जे होला कुङ्ग्बा ठूली
चोमोलुङ्ग्मालाई साक्षी राखेर चिसो सिरेटो बाली
तापौं ताततातो यौवनको आगो
सेकौं सदियौंदेखि कठांग्रिएको मन बालेर प्रेमको दियालो

 

यदि…
हाम्रो प्रेमिल स्नेहको फ़क्ताङ्ग्लुङ्ग ब्युँझिएमा
बग्दाबग्दैको तमोर रोकिएमा
अथवा,
हिउँ फूल्ने हिमालहरू सर्माएर झुकेमा
आँखा चिम्लेर छेकौंला हाम्रा प्रेमप्रतीकहरू

आऊ,
तमोरले सप्तकोसी भेट्नु भन्दा पहिले
कोइलीले पहिलो प्रहर गाउनु अगावै
न्याउली रोइरहेकै बेला झरना, खोला, नदीनाला बगिरहेकै बेला
अलिकति अक्षता फुकेर साम्सिंगरमुक्त्तुताछी
ठोकौं हाम्रो छातीको चरसुरमा
मायाका अनगिन्ती सिलामसाक्माहरू
नत्र…
थामी नसक्नेगरि जाग्नेछ मायाका प्रेत आत्माहरू

तिम्रो कसम कुङ्ग्बा ठूली
बाजी नै ठोक्छु म
यहाँ मेरो मनले जस्तै
त्यहाँ तिम्रो मनले पनि अशान्ति मच्चाएकै हुनुपर्छ
ढुकढुकीको बजारमा फौदारी खेलेर

अब…
मैले आफ्नो छातीमा याग्रन्सिङ्ग गाडेर
ग्रहशान्तिको तिनराते तनग्सिङ्ग राख्नु अगावै
अथवा…
हाम्रो आस्थाको चोलुङ्ग नढल्दै
तिमी यो मायाको मुन्धुमी सन्देश स्वीकारी हाल

पहाडका छाती ढाकेर फूल्ने बास्नादार बुकी फूलहरूको कसम
तिम्रो ओठको लालीरङजस्तो
हिउँ पिएर गुराँस कोरल्ने
हिमालहरूसँग पकंदी खोल्दै ओर्लिंदा
भेटिने ती स्वर्गका टुक्रा जस्ता पाखापर्बत,
खोलानाला, तालतलैया जम्मै जम्मैको कसम
मैले तिमीबाहेक अरुलाई हेरेकोसम्म छैन
तिम्रो कसम कुङ्ग्बा ठूली
धरोधर्म अहिले मरिजाउँ

गोधूलीमा अस्ताई जाने घाममा
रातमा उदाउने तारा जूनमा
साँझ बिहान फूल्ने पारिजातमा
तिम्रो छायाँ देख्नु मेरो पागलपन हो भने
म सहर्ष स्वीकार्छु ठूली

हो, म पागल हो
तिम्रो मायाको पराकम्पनले
घरिघरि हल्लाएपछि
म बहुलाएकै पक्कै हुँ

तिम्रो यादको पोखरीमा
मेरो दिन र रात डुबेपछि बहुलाएको हो
तिम्रो पिरतीको पहिरोले पुरेपछि
विक्षिप्त भएको हुँ

सबै भन्छन् म अर्धपागल
तर,
म आधाभन्दा अलिक धेर
पुराभन्दा अलिक कम मात्र बहुलाएको दाबी छ
अब…
तिमी नै भनन कुङ्ग्बा ठूली बहुलाउनु निको कि मर्नु

ताप्लेजुङ्ग, हालः युके

शब्दार्थ
कुङ्ग्बाठुली = ताप्लेजुंगको उतर तमोर खोलासाईडमा बोलिने भाषामा भाउजुको बहिनी या दिदीको नन्द या सोल्टिनी हो
याग्रनग्सिङ्ग = लिम्बुहरूले झाँक्री या साम्बा धामी राखेर पुजा गर्ने तिनराते चिन्ताको लिङ्गो जसलाई आँगनको बिचमा गाडिन्छ
सिलामसाक्मा = लिम्बूहरूले भूतप्रेत छेक्न या गाउघरको चारसुरमा ठोक्ने घुन्ग्रिंग खिपेर बानाईएको
साम्सिंग = धामीबिजुवाहरूले फलाक्दा हल्लाउने पात
मुक्त्तु = उखु जस्तो सानो लामो लिङ्गोया घाँस जस्तो सामग्री घुङ्ग्रिङ्ग