कुन चरित्रमा उभ्याउँ ? भनेर सोध्दै नसोधी
रामको भक्त बनाएर उभ्याए बाल्मिकीले हनुमानलाई ।
हुन सक्छ एकलौटी प्रेम गर्थ्यो सीतालाई,
पागलप्रेमी थियो हनुमान
र त जतिपल्ट च्यातेर देखाए पनि
रामभन्दा पहिले सीता देखिएकी हुन् हनुमानको छातिमा ।
राजाको छोराले सुटुक्कै सिन्दुर हालेर दरबार छिराए पछि
सीताको नाममा आजीवन कुमार बसेको हुनुपर्छ हनुमान ।
नत्र किन सवभन्दा पहिले हनुमानले थाहा पायो ?
जंगलबाट सीता अपहरण भएको खबर,
किन सीतालाई भेट्न रामभन्दा अघि नै लंका पुग्यो हनुमान ?
र रामले भन्दा पहिले नै रावणको दरवारमा आगो लगाएर फर्कियो ?
वाल्मिकीहरु हुन् चरित्रलाई साटिरहने र साँचो इतिहास लुकाइरहने,
तर पनि हामीले पुजिरह्यौं शताव्दियौंसम्म कविहरुलाई ।
कविहरु संसारका सबभन्दा खतरनाक खलपात्र हुन्
जसले भक्तलाई दास बनाइदिए
हामीलाई कहिल्यै प्रेमी हुन दिएनन्
र हामी हनुमान बनिरह्यौं हजारौं वर्षसम्म ।
धनकुटा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 






