पुष्कर रिजाल

तिमी सिन छान्छौ
र दिन्छौ अनेक पोज
नमिलेमा झर्कन्छौ क्यामरासित
कड्कन्छौ फोटोग्राफरसित
र लिन्छौ अर्को अर्को टेक !

सोचेनौ- कैफियत कहाँनेर छ
र हेरेनौ आफ्नै हैसियत कहाँनेर छ !
लल्कारेर अग्ला हिमाललाई
दुत्कारेर निर्दोष पहाडलाई
कुल्चेर यी पत्थरलाई
थुकेर पवित्र नदीलाई
तुष पोख्दै गर्दा
सोच्यौ….?
हिमाल, पहाड र नदीको ओजबारे
यिनको महिमा, गरिमा र धर्मबारे
हिउँमा सधै हाँस्छ हिमाल
हुरीमा पनि नाच्छ पहाड
र जुध्न तयार छ सबैसबैसँग नदी
पखालेर पापीका कलंक
तयार छ आफू प्रदूषित बन्न !

यो
फर्ज होइन;
हो केवल धर्म
स्वभाव- धर्म
आ-आफ्नो
तिमी तिम्रो धर्ममा
प्रकृति आफ्नै धर्ममा
केवल
धर्म !