राजेन्द्र पौडेल

पत्रकार मित्रले गुनासो गर्दै थिए

चरी टाउके अक्षरमा रङ भर्दै थिए
विकासे बजेट कता गएछ ?
पिच गरेको बाटो हरियो भएछ
लौ न हो जनता विकल्प बताइदेऊ
अनि मैले भनेँ,
गरिबका पसिनाले बालुवा मुछेर बनाएको पिचमा,
हरियो पालुवा नउम्रिएर के उम्रन्छ त यार ?
उद्घाटनका बेला, जेठको धुपौरेमा
गरिबका राता रगतले मुछिएका रातै कार्पेट उम्रिएका थिए
अहिले बर्खा लागेका बेला हरिया घाँस उम्रिएका छन्
हेर ! प्रकृतिले त आफ्नो धर्म छाडेकै छैन
धर्मछाडा त बरु मान्छे नै भए कि ?
विकल्पमा,
यो बजेटमा बुलडोजर आयो,
अर्को बजेटमा ग्रास मोअर मगाइदेऊ
मेरा सामाजिक सहजकर्ता मित्र,
कुर्लँदै थिए
हाम्रो समस्याको मूल जरो भनेकै गरिबी हो,
त्यसलाई निर्मूल पार्नुपर्छ
मैले भनेँ
सुन ! संसारमा गरिबी निर्मूल हुनै नसक्ने कुरा हो
किन कि गरिबी त सापेक्ष हुन्छ
बरु निरपेक्ष हुने गरिबलाई नै निर्मूल बनाइदेऊ न,
छिटो होला
अनि उनी अलिक कड्किएर बोले,
तिमी अराजक कुरा गर्दैछौ
मैले हाँसेर जवाफ दिएँ-
हो, तिमीले सही मूल्याङ्कन गर्दैछौ
म अलिक अराजक नै भएको छु
राज्यको अनुभूति नै नभएपछि अराजक नै भइँदोरहेछ
अनि एकोहोरो बरबराउँदै जान्छु ।
यहाँ हरेक कुरा संख्यामा गणना गरी
औसतमा हेरिन्छ
जब एउटा गरिबको झुप्रो देखाएर हजारौँ महल ठडिन्छन्,
त्यहाँ एउटा गरिब जग बन्दै जमीनमा धसिएको देख्छु
जब एउटा गरिबकै झुत्रो नाना देखाएर
सयौँलाई न्यानो पारिन्छ
त्यहाँ अर्को गरिब,
मान्छेका शरीरमै टाँसिएको देख्छु
गरिबकै निन्याउरा अनुहार भजाएर
आफ्ना अनुहारमा अबिर पोत्ने मान्छेरुपि हुलमा
उस्तै गरिब, अबिर बनेर पोतिएको देख्छु
र एक छ्यापे पानीले अस्तित्व गुमाउने
अबिर र गरिबमा समानता अनुभव गर्छु
गणितीय नापोको औसते विकासे ग्राफमा
मख्खिएको तिम्रो कुटिलता
मक्किएको हड्डीले कहिल्यै नबुझ्ने भो
हजारौँको खुसीको लागि
एउटाको बलिदानी स्वाभाविक ठान्ने तिम्रो दर्शनमा
जब त्यो पात्र नै तिमी बन्छौ,अनि थाहा पाउने छौ,
अस्तित्व दर्शनको मूल मर्म
युग हो प्रतिस्पर्धाको,
जहाँ जसको जे छ त्यही बेच्ने हो, बेच
अरबले तेल बेच्छ,
अमेरिकाले हतियार
अरुले अरु अरु बेच्लान्
बन्यौ तिमी गरिब बेच्ने मतियार
त्यसैले फेरि दोहोर्याउन चाहन्छु,
विकल्पमा,
गरिबी होइन, गरिबलाई नै निर्मूल बनाइदेऊ
टन्टा साफ हुनेछ ।
अवकाश प्राप्त बूढो प्रोफेसर नै
कन्फ्युजनमा बाँचेको देशमा
छक्क पर्नु पर्ने कारण नै छैन
उही पात्र आउँछ छद्म भेषमा
गाउँमा अभावको आगो बल्दै छ,
एक जना दलाल मित्र,
समाजसेवी बनेर अबिर दल्दैछ
अनि,
समाज सुधारका नाममा स्कुलमा कापी कलम बाँड्दै,
एक दिन उसले सोध्यो-
मित्र, हामी अलिक दूरदर्शी हुनुपर्छ क्या,
सुनाऊ, आफ्ना योजनाहरू मैले सोधेँ
सुन्दै जाँदा त
उसले फास्टट्रयाकको सर्वेअगावै
घडेरी प्लटिङ गर्दैछ,
अर्को दलाल मित्र,
विदेशले विदेशी भित्र्याउने
योजना स्वीकृति नहुँदै
‘आकर्षक रोजगारीको अवसर’ शीर्षकमा
विज्ञापन छापेर पैसा असुल्दैछ
अनि लाग्यो,
उनीहरू भन्दा अझ दूरदर्शी त
उनीहरूलाई नै जीवन धान्न विकल्प दिने,
विदेशमा हड्डी घोटेर फास्ट ट्रयाकमा घडेरी लिने
र पाखोबारी धीतो राखेर विदेशिनेहरू नै रहेछन् कि क्या हो ?
अन्त्यमा,
यसरी नै चलिरहेछ
निरन्तर
वैकल्पिक वार्तालापहरू
अनि टरिरहेछन्
आवश्यकताहरू ।
सधैँभरि विकल्पकै बहानामा,
टार्दाटार्दै
इच्छाहरू,
टाल्दाटाल्दै
चाहनाहरू,
खोजिरहेछ जिन्दगीले
जिन्दगीकै विकल्पहरू ।
राजेन्द्र पौडेल
टोक्यो, जापान