गाउँको माथि अग्लो डाँडामा
अग्लो टावर बनेको छ
त्यसमा चढेर अर्को अग्लो डाँडा हेर्नुस्
हुनसक्छ, आफ्नै गाउँ पनि देखिनेछ
धित मरुन्जेल हेर्नुस्
के यो समृद्धि होइन, विकास होइन ?
आजसम्म आफ्नै गाउँ यसरी टावरबाट देखेका थियौ र ?
यो विकास देख्ने सौभाग्यमानी पो हौ
उहिले गाउँ हेर्न
पारिको डाँडा धाउनु पर्थ्यो
हिँड्न दुःख, पुग्न दुःख
सम्झिनु कति दुःख थियो
अब दिन फेरिए, बस् ! मोज गर्नुस्
उहिले कुटोले खनेको गाउँको बाटो
अहिले डोजरमय बनेको छ
बर्खामा पहिरोबाट बच्नुस्, बिन्दास यात्रा गर्नुस्
तुइन छैन, पुलबाट मजाले नदिमाथि तर्नुस्
सेल्फी लिनुस्, स्ट्याटस पोष्ट्याउनुस्
भुलेर नि विरोधको रोइलो नगर्नुस्
प्रशन्न हुनुहोस् तर कदापि प्रश्न नगर्नुस्
प्रश्न गर्ने काम तपाईंको हुँदै होइन
विरोधको लागि प्रतिपक्ष, गुट र असन्तुष्टहरु छन्
तपाईं त आफ्नु मान्छे सन्तुष्ट हुन सिक्नुस्
अब कुनै दिन
ठूलो नहरमा सानो कुलो निर्माण हुनसक्छ
नयाँ बाटोमा खाल्डाखुल्डी पर्न सक्छ
बिजुलीको पोलमा खिया र जहाजमा मुसा पस्न सक्छ
सडक बिगारेर फेरि सडक बन्न सक्छ
भवन भत्काएर अर्को भवन बन्न सक्छ
तर निराश नहुनुस्,
पुरानो नबिग्री नयाँ कसरी बन्छ र ?
विकास बजेटको व्यवस्था हुन्छ वर्ष-वर्ष था छैन र ?
तपाईं उपभोग गर्नुस् तर भुलेर पनि प्रश्न नगर्नुस्
को भन्छ यहाँ विकास भएन भनेर ?
पर्खिनुस्, केही वर्ष अझै बाँच्नुस्
अझै नयाँ विकास देख्न सक्नुहुन्छ कि
आगे आपकी मर्जी, खुद तुम भी खुदा हो !
दार्चुला मार्मा गाउँपालिका ४, बार्कु
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।