आरपी गाउँले

सम्झनामा कोक्रोको
दुई वर्षे छोरो बोकेर
सामन्तीका किल्ला उखेलेर
अलिकति आशामा
बाँचेकी हो फूलमाया ।

देशको सन्तान जन्माउने
बाँकी रहर भोग्नै नपाइ
मारियो लोग्ने
एक्ली भई फूलमाया
अनि रोजी बम, बारुद र धराप थाप्ने बाटो

भन्नेहरुले त भनेकै हुन्
देश बनाउन हिनेको हो लोग्ने
देश बनाउँछ उसले
अनि भनेकै हुन्
‘एकछाक बासीभात निस्तै खानु पर्दैन ।’

भन्नेहरुले भनेजस्तो नभएपछि
समाएकी हो एके फोर्टी सेभेन
सादा शोकलाई शक्तिमा बदल्दै
रोल्पामा पुगेर –
देखाएकी हो नारी शक्ति
भोजपुरमा पुगेर गरेकी हो
सामन्ती ब्यारेक कब्जा ।

मेचीमा पुगेर लाएकी हो
रगतको रातो टीका
लोग्नेको यादमा
पश्चिममा पुगेर
च्यातेकी हो
जातीय विभेदको जालो

पूरा भएको थेन फूलमायाको सपना
रोकिएको थेन परिवर्तनको रगत
लड्दा लड्दै एक दिन
राज्यमा दाइजो पाएका गोलीले
उछिट्यायो फूलमायाको विचार
ढल्यो कहिल्यै नउठ्ने गरी देह
पुगेन छोरालाई आमाको खबर
फुकेन रेडियोले फूलमायाको मृत्यु खबर

जोखाना हेर्नेले त हेरेकै हुन्
साइत निकालेर
तर जीवितै भन्दयो जोखानामा फेदाङ्बाले फूलमायालाई
आउँछ भन्थ्यो देशमा रगत बग्न छोडेपछि
दशकौँ भो मार्ने \ मर्ने
प्रतियोगिताको अन्त्य
अँहँ !
फूलमायाका नाउँमा पु-याएकै छैन
बतासले आत्माको सन्देश
पुग्दैनन् अझै काग समाचार बोकेर
बेखबर छे फूलमाया आफ्नै देशभित्र ।

आठराई २ तेह्रथुम