अनुसूची फारममा ल्याप्च्या लाउँदै
स्तब्ध हुँदै काले सोच्न लाग्यो
बुढी औंला च्यापी जन्तरेको जमानतमा
ल्याप्चे ठोक्दा मामाघर जानु परेको थियो
आज केही फसाद पर्ने त होइन
नाउँ बुबाको नाउँ आमाको नाउँ
उमेर वतन सबै सोधियो लेखियो
त्यस्तो केही रहेनछ कहिले काम आउला भनी
कालेको नागरिकता बनाइएको
उसलाई त्यसको महत्त्व थाहा छैन
अरुले भने मरे ल्याप्च लाउने थेन
मुखियाले नै भनेकाले जे पर्ला पर्ला
पहिलो पटक फोटो खिचेको दुरुस्त
ऎनामा देखिने अनुहार जस्ताको तस्तै
ख्याउटे,दुब्लो पातलो गरीबको परिचयपत्र जस्तो
छर्लङ्ग देखिन्छ उसको रहन सहन र पहिचान
काले कामी र फोटो उस्तै उस्तै
तस्बिर काले कामी को मात्र थिएन
उसको सिङ्गो समाजको थियो
यो तस्बिर गरीब, पछौटेपन, सामाजिक विभेदको
परिचय दिँदै थियो
परिवर्तनले निकै उचाई चुमेको छ तर
गोरे दमाई, लालु सार्की, जनक लावडको
अवस्था उस्तै छ जस्तो हिजो थियो
छोइछिटो विभेदको पराकाष्टा नै हो
जतिसुकै परिवर्तन भने पनि
विभेदका रङ्गिन तस्बिरजस्तै छ
श्यामश्वेत तस्बिरमा सम्पूर्ण
ग्रामीण जीवन झल्किन्थ्यो
छन त छन् साधना बोकेका हातहरु छन्
सृजनाको उकालो चढने खुट्टाहरु छन्
साधनाको कमाई आफ्ना लागि होइन
तस्बिरले चुस्त दुरुस्त गरिबको
आवरण देखाउँदैछ
तेल चित्र, पानी चित्र होइन
यो तस्बिर हो जसले
समाज चिनाउँदछ,
समृद्धि खोज्दै छ
जीवनको चौबाटोमा
अभाव रुँगेर बसेको
काले कामीको तस्बिर

परशुराम १२, डडेल्धुरा