
भुवन न्याैपाने
एकछत्र निराकार आकाशमा
बादल जस्तै धारिला सोचहरुको वेगले
जीवनका पल पललाई सदैव घोचिरहेको छ ।
पात्र ‘म’भित्र आफ्नै मन विभाजन भएर
भयंकर द्वन्द्व चलाइरहेछ
एक हुल प्रश्नोत्तरको बाढीले
सोचलाई यो ठिक कि बेठिक
भन्दै साबिती लगाम लगाउँदै छन् ।
समयको संयोगले सही या गलतको
एकसुरे खोजीमा छ
दुनियाँलाई देखाइदिने नकाबधारी
सस्तो सोचको बिगबिगी बजारमा बढ्दो छ ।
एकाथरि सोचलाई साबित गर्न
प्रमाणको खोजीमा छन्
अर्कातर्फ, सोचलाई ठेगान लगाउन
षठयन्त्रको सञ्जालमा छन्
सोचलाई प्रमाण र षडयन्त्रको
संकुचन दायरामा होइन
प्रकृति, आकास र बादलजस्तै फराकिलो बनाऊ
असल सम्बन्धहरु जस्तै समधुर बनाऊ
सोच नै जिउँदो जीवनको आधार हो
परिर्वतनको क्रमशीला हो
कर्म र विश्वासको फल हो
दुःख र सुखको, समवेदना र उत्साहको
मर्म बुझिदिने चौतारी हो
संसारमा सबैभन्दा शक्तिशाली छ भने सोच नै छ
सोचले खाना र निर्वाह सिकाउँछ
पल पलका पाइलाहरुको मार्गनिर्देश गर्छ
सरल, सुन्दर र सौम्य जीवन देखाउछ
समयले सोचलाई परिस्कृत बनाउँदैछ,
जग खार्दै, सुन्दर ईंट्टाहरु भर्दै,
फूलको आँखामा फूलै संसारजस्तै
सौम्य स्वभावमा चित्रण गर्दैछ
संसार भित्री र बाहिरी मनको सोचमा निर्भर छ
आँखाले देख्छ मनले पहिल्याउनेछ
मनको सकारात्मक सोचले सबैको
जीवनलाई अर्थपरक र सुन्दर बनाउनेछ
सोचलाई गोडमेल गरौँ
समयमा मलजल गरौँ
विकार अनादिलाई फ्याकौँ
एउटा सुन्दर विरुवाको कल्पना गरौँ
संसार यसै घमाइलो हुनेछ
मन आफैँ रमाइलो हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 






