
मीनेन्द्र भण्डारी ‘निश्चल’
नदीहरु आफैँ बगेझैँ
फूलहरु आफैँ फुलेझैँ ,
र, चराहरु आफैँ उडेझैँ
म पनि जीवित छु धर्तिमा –
आफ्नै मौलिक युद्धले ।
मेरो प्रिय देश
र, देश-चालक नायकहरु
इतिहासदेखि वर्तमानसम्म
म हरपल लडिरहेछु विश्वयुद्ध,
म जुधिरहेछु आज पनि –
उत्तरका अग्ला हिउँ-पहाडहरुसँग
र, कुदिरहेछु तुफान-तुफान –
भूमध्य खाडीका मरुभूमिहरुमा |
यो अनवरत लडाइँमा–
म जिउँदै जमेको छु
र, पग्लिएको पनि ।
अपशोच,
म नि:शब्द र शान्त छु बुद्धजस्तै
मात्रै एउटै प्रश्न छ मनमा –
मेरो पनि देश छ र ???
दोरम्बा -६, रामेछाप
हालः जेद्दा, साउदी-अरेबिया



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 




