दाइ आज यो तिहारमा
हाम्रा ती हार खुब सम्झिरहेकी छु
आमाको रोगसँगको हार
बाबाको मृत्युसँगको हार
तपाईंको रोजगारीसँगको हार
अनि मेरो रहर र खुसीसँगको हार ।
दाइ यो तिहारमा अरुले
रङ सम्झन्छन् होला
उमङ्ग सम्झन्छन् होला
तर म हरेक पल तपाईंलाई सम्झन्छु
र हाम्रा ती हार सम्झन्छु
जसका कारण
तपाईंको एक्लो बहिनीले,
तपाईं एक्लो दाइको
गलामा मखमलीको हार
पहिराउन पाइनँ
घज्याम्म दैलोमा ओखर फुटाएर
तपाईंका हरेक शत्रुलाई उनकै
कर्तुतको नदी तैर्याउन पाइनँ ।
दाइ,
देउसिरे खेल्ने ती साना भाइबहिनीहरु,
चिच्याएर भैले भट्याउँदै
यो घर कत्रो सिंहदरबार जत्रो भनिरहँदा,
शीतले निथ्रुक्क भिजेको एक भुल्को खर
मादलेको टाउकोमा बज्रँदा
लाग्छ कहिलेकाहीँ दरबारमा पनि खर वार हुँदोरहेछ ।
भैले भट्याइरहँदा,
यो घरका जेठा छोरा
मास्टर बनून् जब भन्छन्
तब तपाईंले बाकसमा पोको पारेर राखेको
तपाईंको मास्टर्सको डकुमेन्ट सम्झन्छु
अनि सम्झन्छु एक शैक्षिक बेरोजगारका ती हार
अनि सम्झन्छु हजुर बिनाको यो तिहार ।
हरेक पल
हारी हारी बाँचेको यो जिन्दगीलाई
यो तिहारले “तिहार” होइन,
ती हारको सम्झना गराइरन्छ दाइ ।
प्युठान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।