मेरो आगोसँग
निकै नजिकको सम्बन्ध छ ।

किनकि,
म आगो ओछ्याएर सुत्न सक्छु
आगो ओढेर
र, आगो सिरान राखेर मस्तसँग निदाउन सक्छु ।

हो, दुनियाँले भन्छ
आगोले बन्दूकको नालबाट मृत्यु जन्माउँछ
बम र मिसाइलबाट बिध्वंश जन्माउँछ
र यो पनि भन्छ
आगोले सँधै खरानी ओकल्छ ।

हो, मान्छेको यो विचारसँग
म विमति राख्दैन
र, पुरापुर सहमति पनि राख्दैन ।

किनकि,
यही आँखाले
आगोले बस्ती खरानी भएको देखेको छ
जनयुद्ध–युद्धमा मृत्यु पनि देखेको छ
र, कैयौं भौतिकवस्तुहरु ध्वस्त भएको पनि देखेको छ
तर, त्यत्ति मात्रै होइन
आगोले
वर्षौंदेखि सुतिरहेको हिउँ पनि ब्युँझाएको देखेको छ
यसकारण आगो
विस्थापन मात्रै होइन
स्थापन पनि हो ।

मान्छेहरू भन्छन्
आगोको सबैभन्दा ठूलो दुस्मन पानी हो
र, भन्छन्
आगोको अर्को दुस्मन हुरी पनि हो
म यो कुरामा विमति राख्दैन
र, पुरापुर सहमति पनि जनाउँदैन
किनकि
म पानीभित्र आगो पनि देखेको छु
हुरीसँग पनि आगोको गहिरो सम्बन्ध देखेको छु ।

म भर्खर सडकमा
आगोको एक हुल जुलुस देखेँ
हुरीले आगोलाई सघाइरहेको पनि देखेँ
र, उत्तेजना थपिरहेको पानीलाई पनि देखें ।

हेर्दा–हेर्दै हुरीले एक लप्को आगो टिपेर
सिंहदरबार माथि फ्याँक्यो
र मैले देखेको छु
सिंहदरबार जलिरहेको
दिल्लीलाई भतभती पोलिरहेको
र ह्वाइट–हाउस छट्पटाइरहेको ।

आगो, आगो नै हो
कहिलेकाहीँ आगो जुनकीरी जस्तै हुन्छ
कहिलेकाहीँ ज्वालामुखी जस्तो पनि भइदिन्छ ।

आगो जब मैनको चुचुरोमाथि उक्लियो भने
पूर्णिमाको जूनले पनि दाह गर्छ
र, आकाशका ताराहरु झुम्मिन्छन्
जब पाहुनाजस्तै आगो झुपडीका चुलोमा पस्यो भने
भुइँमान्छेहरूका अनुहार मुस्कुराउँछन्
तर, कहिलेकाहीँ उही आगो रिसायो भने
र, धरतीमाथि बजारियो भने ध्वस्त बनाउँछ ।

यसकारण
आगोसँग खेलाँची नगर्नु
आगोले मृत्यु जन्माउँछ
आगोले विध्वंश मच्चाउँछ
र, आगोले खरानी ओकल्छ ।

लमही-३, देउखुरी, दाङ