कोरोना भाइ !
के राक्षसी चाल हो तेरो
कस्तो उपद्रो कस्तो जाल हो तेरो !
संसारै घुमीघुमी लडाउँदैछस् मान्छेहरू
तेरो एक मात्र दुश्मनझैँ गरेर
किन सताउँदैछस् हँ !

जब तेरो जन्म भएथ्यो नि
मैले सोचेकी थिएँ
तँ आफ्नै खुट्टाले टेक्लास्
मर्द भई गरी खालास्
आफ्नो पौरख देखाउलास्
तर,
तँ त,
घुमन्ते, डुलन्ते, लडुवा भएछस्
परजीवि भएर निस्कएछस्
मान्छेको रगत चुसी चुसी
उसैको स्वास रोकी रोकी
केही समयलाई मोज त गर्दैछस् ॥

हेर ! परजीवि भई बाँच्नु
कदापि राम्रो होइन
तँ सक्छस् भने
आफ्नै अस्तित्व कायम गर
मान्छेको फोक्सोमा बास नगर
दिदीले भनेको मान
हैन भने, तेरो अन्त्य अवश्मंभावी छ ॥
तेरो सत्यानास गर्न
संसार लागिपरेका छन्
माक्स, स्यानिटाइजर छोडेका छैनन्
साबुनले हात धुन बिर्सेका छैनन्
तँ यस्तै अटेरी भएर नै
यस्तै ज्यादति गर्न थालिस् र नै
तेरो सर्वनाश गर्न
मान्छेहरूले एक से एक
खोपको आविष्कार गरिरहेछन् ॥

हेर! भाइटीका नजिकिँदै छ
बरू तँलाई
यमराजबाट सुटुक्क बचाउँला
सेल्फी लौरीले परैबाट
सयपत्री र मखमली फूलको माला लगाइदिउँला
सप्तरङ्गी टीकाले सजाइदिउँला
ओखर फोरी यमराजलाई भगाइदिउँला
मिठो मिठो मिठाई खुवाउँला
तर तँ जहाँबाट आथिस्
त्यहीँ फिर्ता जा भाइ !
र, शान्त भएर बस् ॥
आफ्नै जन्मदिने आमाको साथ
कदापि नछोड ल !

उही दु:खी तेरी दिदी

काठमाडौँ