
कैलाशकुमार पाण्डे
असंख्य पीडा छन् साथै
सुन्दर सपना पनि छन्
दैलै पिच्छे गरिबीको चित्र देखिन्छ
घरघरै अभावको भकारी
अरु त ठिकै छ्न्
लालु सार्की उपचारै नपाइ मरे
वीरेलाई छोरो पढाउने चिन्ता छ
हर्केको हलको गोरु मरेको छ
हल जुटाउन पाएको छैन
जन्तरी नुन नपाई अनिलो
खाएको छ महिना भयो
दिनभर चामलको लाइन बसी
बुहारी रित्तै हात फर्किई
रेडियोले बारम्बार भन्ने गरेका
तिम्रा समृद्धिका सपना
गाउँमा पनि पुग्छन् कि
सिंहदरबार यतै आए त भन्छ्न्
सिंहदरबारले बाँडने सपना
एकादेशका कथा त होइन होला
हाम्रा गाउँ पनि पुग्छन् कि
समृद्धिका सपनाहरु
विपन्नताको नमुना कहीँ हेर्नु छ भने
गरिबीको रेखामुनि रहेकाहरुको
वास्तविकता जान्नु छ भने
भोको पेट एकसरो लुगाको चिन्ता
के रहेछ बुझ्नु छ भने
हाम्रा गाउँ आए हुन्छ
भोकमरीको पहाड छ
बेरोजगारीका शहर छ
कर्णालीको कहर
काठमाडौँको रहरले बुझ्दैन
बाजुरेलीको अभाव
काठमाडौँको भन्दा फरक हुन्छ
गाउँमा के छ के हुँदैछ
समृद्धिले देख्छ कि देख्दैन
अभाव रुँगेर बसेको दुर दराज
गाउँमा
समृद्धि पुग्छ कि पुग्दैन
दियो दियालो बाहेकको
बत्ती बल्दैन
जोगी वैद्यको जडिबुटीबाहेक
औषधि मिल्दैन
हावाको बिजुली
सपनाको रेलमा
समृद्धि आउँछ कि
हाम्रा गाउँमा
कैलाशकुमार पाण्डेय
परशुराम न पा १२, डडेल्धुरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

