साथ छोड्दै रात रुवाउँदै खुशीखुशी गर्नेले
व्यथा बल्झाउँदै खाटा कोट्याउँदै फुर्कीफुर्की हिँड्नेले,
जाली माया झुठो कसम जिस्कीजिस्की खानेले
पिरतीमा ठट्टा गरी ठुस्कीठुस्की हिँड्नेले,
पागलजस्तै बौलाएर हाँस्ने बनायो
तारा गन्दै टोलाएर बस्ने बनायो !
वचन तोड्दै माया फेर्दै हल्लीहल्ली हिँड्नेले
आँखा तर्दै बोली फर्दै सन्कीसन्की हिँड्नेले,
परेलीमा राख्छु भनी मस्कीमस्की हिँड्नेले
पिरतीमा आगो लगाई ढल्कीढल्की हिँड्नेले,
हिँड्दाहिँड्दै पुग्ने बाटो भुल्ने बनायो
तारा गन्दै टोलाएर बस्ने बनायो !
परेली फरफराउँदै आँखा सन्काउँदै तर्कीतर्की हिँड्नेले
बाटो फेर्दै पाइला मोड्दै फर्कीफर्की हिँड्नेले,
बादलभित्र लुकीछिपी चोरीचोरी हेर्नेले
पिरतीलाई खेल सम्झी इत्रीइत्री हिँड्नेले,
जित्दाजित्दै बाजी किन हार्ने बनायो
तारा गन्दै टोलाएर बस्ने बनायो !!!
सपनी जलाउँदै विपनी झस्काउँदै तर्कीतर्की हिँड्नेले
निहुँ खोज्दै खोर्चे थाप्दै सर्कीसर्की हिँड्नेले,
चोखो माया लाउँछु भनी ढाँटीढाँटी हिँड्नेले
धनसँग चोखो माया साटीसाटी हिँड्नेले,
हाँस्दाहाँस्दै आँशु किन आउने बनायो
तारा गन्दै टोलाएर बस्ने बनायो !
पोखरे, भोजपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।