दीपेन्द्र थापा मगर

रहरसँगै पिल्सिएका यी प्रहरहरु
ज्वालासरी दन्किरहेका छन्
आफैँभित्र दबाउँ त उकुसमुकुस गराउँछ,
फैलाऊँ त अरुलाई जलाउँछ ।

तिमीले खन्याइदिएको
एक लोटा पानी उहिलै बाफ बनेर उडिसक्यो
तर अझै म त्यही बाफ वर्षा बनी
झर्छ कि भनी कुरिरहेछु।

तिमीले लगाएको सानो झिल्को,
हेर आज कति भीषण जलिरहेछ
म यही भीषण आगो, झिल्को बन्ने झिनो आशमा जलिरहे छु ।

समय तिम्रो र मेरो एउटै थियो,
फरक थियो त मात्र हामीलाई चलाउने त्यी घडीहरु,
एउटै समय भएर पनि आज,
हामी बाँचिरहेको जीवन किन बेग्लै ?
हामीले देखेका सपनाहरु एउटै थिए,
फरक थिए त त्यी सपना भित्रका
अनेकौँ सपनाहरु/बाध्यताहरु,
एउटै सपना भएर पनि आज,
हामीले बिताउने रातहरु किन बेग्लै?

यी प्रश्नहरुले प्रश्नको बाँण हानी रहेछन्,
हाम्रा बाटोहरु एउटै भएर पनि पुग्ने लक्ष्य किन बेग्लै?

भन्छन् जीवन बाँच्नेहरु, जीवन प्रतीज्ञा हो बाँच्ने गर,
अनि प्रेम,
प्रतीज्ञाको मीठो उपहार
त्यस्तै मीठो उपहार जसलाई सायद मुनाले पनि पोको बनाई मुग्लान हिँड्ने मदनलाई दिएकी थिइन्
त्यो मीठो उपहार जस्ले मुनालाई मदन जस्तै तिमीलाई मबाट छुटायो

हो साँच्चै सत्य बोलेका रहेछन् यी जीवन बाँच्नेहरु,
जीवन प्रतीज्ञा हो बाँच्ने गर
आऊ तिमी तिम्रो आफ्नो प्रतीज्ञाको उपहार लिन,
एक लोटा पानी लिएर आऊँ,
म यहीँ छु, सोध्दै आऊ, खोज्दै आऊ।
नभेटे/नदेखे बाटोका बैरीहरुले पल्टाइदिन्छन्
मेरो जीवनका एक-एक पाना
अवश्य पनि देखाइदिन्छन् / बताइ दिन्छन् त्यी बाँच्नेहरुले मर्नेहरुको ठेगाना ।

********

हल्देकालिका-३ नुवाकोट
हालः पोखरा-१३, मियाँपाटन