सोमनाथ लुइटेल

त्यो सहर जसले पाठेघर तुहाएको छ
अब यसले शान्ति जन्माउन सक्ने छैन

प्रत्येक दिन,
एक बालिकाको कहीँकतै बलात्कार गरिएको छ,
न्यायालयले दोषीलाई आजाद गरिदिएको छ,
कुनै निमुखो इन्काउन्टरमा मारिएको छ
भन्ने खबर सुन्दै हामी बिउझियौँ ।

प्रत्येक दिन,
सत्ताका निमित्त कुर्सी तानतान,
समानताको नारासहित विशाल जनलहर,
सास फेर्दै गरेकालाई जलाइएको,
हामी प्रत्यक्ष हेरिरहेका छौँ, एकोहोरो हेरिरहेका छौँ।

त्यो सहरले अत्यधिक रुपमा
अन्याय, दमन, द्वन्द्व र अस्थिरता उत्पादन गरेको छ
अब यसले शान्ति जन्माउन सक्ने छैन
किनकि यसले आफ्नो पाठेघर तुहाएको छ ।

काँडाघारी, काठमाडौँ