आकाशतर्फ उभेर हेरेँ
जीवन धेरै तल बाँच्दैरहेछ
फेरि तलभन्दा तल जहाँ म उभेको छु
त्यहाँ म एउटा वर्तमान बोकेर उभेको छु
फेरि सन्झन्छु सागर
त्यहाँभन्दा त माथिल्तर उभेको रहेछु,
समानान्तर एउटा आभास बोकेर
म त सधैं सधैं पछ्याइरहेको हुन्छु निरन्तर…

आकाश मात्र एउटा सीमा भएर
जीवनलाई संक्रामक बनाइरहेको भए पनि
मानिस आजित अर्थमा अनादर बाँच्नपर्ने
अनावश्यक क्षणहरूमा बिव्याँलटो हुँदै हुँदै
नितान्त बाँच्नुको क्षमता बोक्दै
कति गतिशील छ
क्षमताहीन जीवनको सार बोक्दै
यद्यपि संघर्षको गतिशील अर्थ बोक्दै
आजित जिन्दगीलाई खुलेआम लाम लगाएर कहिले क्राइस्ट कराउँदै
कहिले बौद्ध मन्थन गर्दै
कहिले अनेकन देवता-देवीहरूका भजन गर्दै

उच्चाटलाग्दो घाममा
वर्तमानको गतिशीलता बोकेर
अनायस मान्छेको प्रवृत्ति सम्झेर
आकाशमुनिपट्टि उभेको एउटा जिन्दगी
म धेरैपल्ट पसिनाको बेगमा आकाशको ओझेल लागेर
धरातलको छेउपट्टि एउटा जीवन भोगिरहेको छु
यो उद्वेग छ… एउटा उच्छवास लिएको छु

मगजका कारखानामा
आकाशको प्रतिविम्ब दृष्यपान गर्दै
एउटा लाममा उभेर… आकासदेखि धेरै तलतिर
भनौँ सागरका किनारादेखि अलिकति माथि
बेअर्थका तत्त्वहरू समाल्दै
पृथ्वीको धरातलमा उभिरहेको एउटा शायद मान्छे
इतिहासले वर्तमानको परिभाषा बक्दै भविष्यसम्म पिँढीको टोपी साट्टै
अलिकमाथिसम्म आउने प्रयास गर्दैछु साथी!
एउटा एकलो स्वाभाविकतामा रुमल्लिएर…

आकाशको एक कुनामा
एउटा जीवनको सार लिएर
एक टुक्रा जिन्दगी बाँच्दै बाँच्दै
कहिलेकाहिँ लम्पसार परेर किंकर्तव्यविमूढ जिन्दगी भोग्दै
आधासरो अभ्यासहरूमा ज्यूँने चेष्टा लिएर
मान्छे म औपाचारिकता सहन गर्दै शिष्टचार बोकेर
बेफायदाका ग्रन्थिहरू सम्हाल्दै
एक टुक्रा भावनाका लागि आफू भावुक बन्दै
कसरी अफ्ठ्यारा संयोजनहरूमा काँध थाम्दै हिंडदैछु साथी

कि आयतनहरूका निर्माण गर्नु?
कि पराजयहरूका आयतन सम्हाल्नु?
आकाशको आयतनमा थप-घट फेरि कसरी हुन्छ र?
मान्छे म निर्विवाद बाँचेको
प्रश्नकालहरूका माझमा
कि हरक्युलसलाई पृथ्वी उचाल्नका लागि सघाउनका निम्ति उभिनुपर्ने?
कि सागरको आयतनमा पृथ्वीको आयतन वियोग गर्दै?
हा…हा…हा… जिन्दगी आयतनको संघारमा ज्यूँने जमर्को गर्दैछ
निर्विवाद एउटा अस्तित्व
बाँचिरहेको छु म आकाशकै आयतनभित्र।

 

(भारतको पश्चिम बङ्गाल अधीनस्थ पञ्चायत तथा ग्रामीण विकास विभागमा कार्यरत
‘मन’ काव्य 1993 र ‘असम्भावित’ कविता सङ्ग्रह 2016 मा प्रकाशित_