
यामबहादुर पुन
गाउँको अग्लो डाँडामा पुगेपछि
सुनाउन तम्सिन्थे नयाँ खबर सकेजति
घोक्रो फुलाएर ऊ बेला कटुवाल बा
एकोहोरो बजेपछि दमाहाको आवाज
खोल्थे ठूलो स्वरमा सूचनाका
एक दुई थान विवरण क्रमशः एकाबिहानै
र अलप भैजान्थे छिनभरमै
गाउँको अग्लो डाँडाबाट
समाजले बोकेको इन्द्रेणी रङहरु
टिपेर सजिलै फेर्थे आफ्नै लयमा
भत्काएर हावाको मौनता कटुवाल बा
भुईं उज्यालो आउनुअघि सोझिन्थ्यो
उनको गन्तव्य आफ्नो दुःख भुलेर
हिँडिरहन्थे अनवरत नहिच्किचाइकन समाजको खातिर
पल्लो गाउँको आँगनमा पुर्याउँदा सन्देश
कटुवाल बाका खुट्टाले बाटोको आयु
समाउनै पर्दथ्यो
सरकारले नियुक्ति गरेको हल्काराजस्तै
लाग्थे कुनै न कुनै खबर ल्याउने समाजको
एउटा शाश्वत शृङ्खला
कुनै स्वार्थ नराखी चलेको गाउँको
पुस्तैनी चलनको छातीमा छामेर हिँडेका
कटुवाल बा -कति ध्वनि बगाएर गए होलान्
ऊ बेलाको समाजको प्रतिस्ठाको ध्वजा
मैलिन नदिन कटुवाल बाको कति पैतालाका
छाला उप्किए होलान्
गाउँलाई ब्युझाँइराख्न उनी घरबाट निस्किदा
कटुवाल बाका सपनाहरूले कति पटक घोचे होलान्
आफ्नो दैनिकी छोडेर निर्मम हिँड्दा
कयौँ चोटि रहरहरु भत्किएथे होला
हेर्दाहेर्दै आँखाले
उतिबेलाको समयले जन्माएको
कटुवाल बाको हृदयले बोकेकै हुन्थ्यो होला
नखोलिएको देशको कथा
कटुवाल बाको देश ब्युँझाउने अभियान
युगले राखिदियो सन्दूकमा
राष्ट्रको चिनारी बोकेको एउटा सम्पत्ति हुन् कटुवाल बा इतिहासका धरोहरजस्तै
सम्झिरहन्छ देशले कटुवाल बा
याम बहादुर पुन
रुन्टिगढी ७, रोल्पा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 




