सुन्दर हिमालझैं चुलिने मन छ
अग्ला पहाड झैं अग्लिने मन छ
आकाश जस्तो उदार हुने
अनि,
नदी जस्तै निरन्तर बहने मन छ ।
ए साथी हो,
के गर्दैछौ हँ तिमीहरु ?
धोकेबाजहरु
माफिया, तस्कर र बिचौलियाको काँधमा बसेर
लोकतन्त्रको नाममा
लोकतन्त्रकै हुर्मत लिइरहेछन्,
दीनदुःखी नागरिकको नाममा
तिनकै शिकार गरिरहेछन्,
फालेर सबै लज्जा
निर्वस्त्र राज गरिरहेछन्
तिनको शासन ढाल्ने मन छ ।
आऊ
उठाऊँ आवाजहरु
चलाऊँ कर्मशील हातहरु
हल्लाऊँ यिनका बालुवामा उभिएका जगहरु
भत्काऊँ यिनका किल्लाहरु
झारौं यिनको सेखी
र
सजाऊँँ आफ्नै माटो
के छैन यहाँ ?
यहीँ नै सबथोक छ
मात्र ईमान र परिश्रमको खाँचो छ
मात्र ईमान र परिश्रमको खाँचो छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला