राजन पराजुली

तँ र ममा कति धेरै फरक छ
तँ जन्मिदा नै स्वतन्त्रताको ट्याग
भिरेर पृथ्वीमा पाइला टेकिस्
अनि म
एउटा बन्द पिँजडाभित्र थुनिएको चरोझैँ
पखेटा काटिएको सुँगाझैँ
औँसीमा लागेको जूनझैँ
अन्धविश्वासको जडले घेरिएको
एउटा कालो संसारमा पाइला टेक्न आइपुगे
तँ जन्म लिँदा
तँलाई छुन आउने कयौँ भए
बधाईको ओइरो हजारौँ पटक पाइस्
च्याँको आवाजसँगै
तेरो जिन्दगी सुन्दर भै दियो
तँ आफैँमा पूर्ण भएर
निर्दक रून पाइस्
मेरो जन्म आफैँमा
एक रोग साबित भएर उत्पत्ति भै दियो
मलाई छुन हतपत कोही आएनन्
बधाईको ओइरो
हातमा गन्न सक्नेमा सीमित भयो
मेरो च्याँ आवाजसँगै
जिन्दगी हीनताबोधको बाटोमा
हिँड्न सुरुवात भै दियो
तँ आफ्ना पाइला ढुक्कसँग
हरेकका दैलामा पुर्याउन पाउँछस्
तँलाई कसैले रोक्दैन छेक्दैन
तँ समाजमा ठूलो मान्छेको दर्जाले चिनिन्छस्
म मेरा पाइला चाल्न पनि
त्यही तँलाई ठूलो दर्जा दिनेहरूको
आँखा हेर्नुपर्छ
कसैको घरभित्र होइन
आँगनमा पुग्न पनि अगाडि थर
बताउनु पर्ने हुन्छ
मलाई तँलाई ठूलो दर्जा दिनेहरूले
सानो दर्जाले चिनाउँछन्
तँलाई हरेक ठाउँमा आउँदा
ताली पिटिएला
तेरो भव्य स्वागत होला
हरेकसँग टाँसिएर पेट भर्न सक्लास्
मलाई तँलाई जस्तो स्वतन्त्रता दिइँदैन
हरेक ठाउँमा पाइला टेक्नुभन्दा अगाडि
मेरा खुट्टाहरू काम्छन्
मेरो आगमनले
ताली होइन गाली पिटिन्छ
स्वागतमा बस्नेहरूले
मलाई पर पर भन्दै खेद्छन्
तेरो घरमा खसी बोका काट्दा
रौसीको बोतल फुटाउँदा
ठूला दर्जाहरूले
पाटी नामकरण गरिदिन्छन्
मेरोमा राँगा, भैसी
रौसीको बोतल सकाउँदा
सिनो खायो
जात देखायो भन्दै नाक खुम्च्याउँछन्
मबाट बनाइएको
जुत्ता, हँसिया, कोदालो,
मबाट सिलाइएको
लुगा, कोट केही नगरी
पवित्र चोखो भएर तेरो घर छिर्छ
मैले तेरो घरको दैलीमा
टेके भने मात्र पनि
तैँले सुनपानीले चोखो बनाउँछस्
तँसँग कुम ठोकेर
सँगै बस्दै गफ पेल्न आउनेहरू
कयौँ हुन्छन्
घरमा केही चाहियो भने
भित्र छिरेर झिक्दै लाने हुन्छन्
म तेरै ठाउँमा बसेर पनि
मेरो घरमा
कसैले पाइला टेक्दैनन्
टाढाबाट के छ भन्दै निस्किन्छन्
तेरो घरमा अइँचो-पइँचो चल्छ
मेरोमा चल्दैन
तैँले दिएको पानी मस्तले पिउनेहरू
मैले दही दिए भने पनि नहेरी हिँड्छन्
तँ र ममा
रगत उस्तै छ
छाला उस्तै छ
नाक, मुख, हातखुट्टा, आँखा
लिङ्ग, शरीर अनि जन्म उस्तै छ
हरेक चिज उस्तै भए पनि
तँ र ममा कति धेरै फरक छ है ?

राजन पराजुली
चितवन